सामाजिक सेवा दिवसमा एक हजार बढी विद्यार्थीको निःशुल्क आँखा जाँच

असोज ०५, २०८०


बालाराम खड्का, तुलसीपुर ५ असोज । दिगो विकास राष्ट्रिय प्रतिवद्धता लक्ष्य प्राप्तीमा संघ संस्था भन्ने मुल नाराका साथ शुक्रवार देखि ४४ औं सामाजिक सेवा दिवस मनाउन सुरु गरिएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर-सरकारी सामाजिक संघ-संस्थालाई समाज कल्याण परिषद्ले असोज ५ र ६ गते विभिन्न कार्यक्रमहरुको आयोजना गरि भव्य रुपमा दिवस मनाउन अनुरोध संगै संघ संस्थाहरुले विभिन्न कार्यक्रम गरि दिवस मनाउन सुरु गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक सम्शेर थापाले जानकारी दिए ।

प्रमुख प्रशासक थापाले नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले सेवा दिवसको अवसरमा शुक्रवार देखि विद्यालय आँखा जाँच कार्यक्रम, आधारभुक्त आँखा स्वास्थ्य शिक्षा, निःशुल्क चश्मा वितरण र विरामीहरुलाई फलफुल वितरण लगायतका कार्यक्रम आयोजना गरि दिवस मनाउन सुरु गरेको जानकारी दिए । त्यसैविच नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु )नारायणी आँखा अस्पताल बहादुरगञ्जले कपिबस्तुको गोरखनाथ एकाडेमीमा निःशुल्क विद्यालय आँखा जाँच गरेको छ । विद्यालयमा रहेका ४ सय ४६ जनाको आँखा जाँच गरिएकोमा ११ जना चश्मा लगाउनु पर्ने विद्यार्थीहरु फेला परेका छन् ।

त्यस्तै ५५ जना आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेका विरामीहरुलाई फलफुल वितरण गरिएको प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । त्यस्तै लमही आँखा अस्पतालले पनि लमही-५ को सनलाईट मोडर्न मा.वि स्कुलमा ६ सय ६० जना विद्यार्थीहरुको आँखा जाँच गरेको छ । जसमा २५ जना विद्यार्थीहरुलाई आँखाको समस्या देखिएको छ ।
त्यस्तै विद्यालयमा रहेका विद्यार्थी, शिक्षकहरुलाई आधारभुक्त आँखा स्वास्थ्य शिक्षा समेत दिएको नेत्र सहायक विमल घिमिरेले जानकारी दिए । सो अवसरमा ११ जना शिक्षकहरुलाई नजिकको चश्मा निःशुल्क वितरण गरिएको छ ।

त्यस्तै राप्ती आँखा अस्पतालले शनिवार तुलसीपुर उपमहानगरपालिका वडा नंं १८ मा निःशुल्क आँखा जाँच कार्यक्रम समेत आयोजना गरेको अस्पतालले जनाएको छ । आँखा अस्पतालले सामाजिक उत्तर दायित्व अन्तर्गत लुम्विनी र कर्णाली प्रदेशका दुरदराजमा पुगी हाल सम्म करिव ५ लाख बढीको निःशुल्क आँखा चेकजाँच र ४१ हजारबढीको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरि सामाजिक उत्तरदायित्व निर्वाह गरी सकेको छ । साथै आर्थिक अवस्था कम्जोर हुनेहरुलाई विभिन्न संघ संस्था, दातृनिकाय, सामाजिक व्यक्तिहरु संग साझेदारी गरि निःशुल्क सेवा दिदै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए । उनले सवैलाई उज्यालो प्रर्दान गदै हुने संग लिने र नहुनेलाई सेवा दिने आफुहरुको पवित्र उद्धेश्यरहेको बताए ।