अझै ३/४ दिन पानी पर्ने सम्भावना, मनसुन बाहिरिन ढिलाई

असोज १३, २०८०


असोज १३, मौसम पूर्वानुमान् महाशाखाले यसपालि मनसुन बाहिरिन केही समय लाग्ने बताएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भएपनि यसपालि केही दिन ढिला हुने जानकारी दिएको हो ।

हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशा तर्फ सर्ने सम्भावना भएकाले देशका धेरै स्थानमा ३ र ४ दिनसम्म हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै सो अवधिमा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने, दैनिक जन-जीवन तथा सडक, हवाई यातायात समेत केही प्रभावित हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले यो समय बाली भित्र्याउने बेला पनि भएको हुँदा आवश्यक सतर्कता अपनाउन भनेको छ ।