दहवन जोड्ने सडक खण्डको ग्वारखोलामा पुल निर्माण गर्न पहल गर्छु : सञ्चार मन्त्री शर्मा

असोज २८, २०८०


असोज २८ । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले बिजौरी हुँदै दहवन जोड्ने सडक खण्डको ग्वारखोला क्षेत्रमा पुल निर्माणका लागि पहल गर्नेे बताएकी छिन । बिजौरी उद्योग वाणिज्य सघंले आइतवार आयोजना गरेको स्वागत–सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन । उनले यस क्षेत्रको बजारलाई व्यवस्थित गर्ने र यहाँको विकास निमार्णलाई अगाडी बढाउने सन्दर्भमा सघंले बिषेश ध्यान दिनुपर्ने र आफुहरुले सरकारबाट सदैव सहकार्य गर्ने विस्वास दिलाइन ।

त्यस्तै उनले विगतदेखि नै निर्माण सुरु गरिएको घोराही–हापुर–रक्षाचौर सडक खण्डमा परेको बजेट कार्यान्वयन विषयमा सामान्य त्रुटि देखिएकोले यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीलाई जानकारी गराएकोे बताइन ।
उनले घोराही तुलसीपुरको चारलेन सडकलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने प्रतिबद्धता जनाइन । त्यस्तै मन्त्री शर्माले सातवटै प्रदेशमा सूचना प्रविधि सीप विकास तालिम केन्द्र स्थापना गर्न थालिएको बताइन । ‘सूचना प्रविधिको सीप सिक्नकै लागि युवाहरू विदेश जान थालेपछि त्यसलाई रोक्न र स्वदेशमै सीपको विकास गर्न सूचना प्रविधि तालिम केन्द्र स्थापना गर्न थालिएको हो,‘उनले भनिन् ।’ उनले मन्त्रालयबाट सातवटै प्रदेश मुकाम रहेका जिल्लामा सुरुवातको चरणमा पूर्ण सञ्चारयुक्त जिल्लाका लागि प्रक्रिया अघि बढाइएको बताइन । उनले दाङ जिल्लालाई पूर्ण विद्युतीकरणको जिल्लाका रूपमा विकास गर्न थालिएको पनि बताइन ।

उनले वर्तमान सरकार विगतका सरकारले बजेटको सुनिश्चितता नगरी हचुवाका भरमा गरिएका योजनाका कारण अरबौँ रकमको दायित्वमै रहेकाले थप सिर्जनशील र नयाँ योजनाका काम सुरु गर्न नसकिएको बताइन । राजनीतिक अस्थिरताकै कारण देशमा आर्थिक दायित्व थपिने समस्या रहेको उनको भनाई छ ।
त्यस्तै उनले दाङको बेलझुण्डीमा रहेको संस्कृत विश्वविद्यालय सभाबाटै पूर्वीय दर्शनको केन्द्रबिन्दु बनाउन विस्तृत विवरण प्रतिवेदन बनाउन निर्णय भए पनि अझै कार्यान्वयनमा आउन नसकेकाले यस क्षेत्रको तर्फबाट काम अघि बढाउन दबाब सिर्जना गर्न आग्रह गरिन । उनले घोराहीको स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई व्यवस्थित गरेर लैजान ३० करोड रुपैया बिनियोजन गरिएको र अब भवन निमार्णका लागि टेन्डर प्रक्रियामा जाने तयारीमा रहेको पनि जानकारी गराइन ।

कार्यक्रममा बिजौरी उवासंघका अध्यक्ष रेश्मीराज खड्काले ऐतिहासिक बजारक्षेत्र भएकाले यस क्षेत्रको बजार, शिक्षा, स्वास्थ्य क्षेत्रमा टेवा गर्ने बिजौरी दहवन सडक खण्डको रुन्टीगढी वडा ८ र ६ रानीबास क्षेत्रमा बेलिब्रिज वा पुल निर्माणका लागि पहल थाल्नका लागि आग्रह गरे । उनले दाङको उत्तरी क्षेत्रको फड्को मार्ने घोराही–हापुर–रक्षाचौर सडक खण्डको बजेट साढे १४ करोड अन्यत्र स्थानान्तरण हुन थालेको भन्दै साबिककै योजना कार्यान्वयन गर्न माग गरे ।

त्यस अवसरमा बिजौरी उद्योग वाणिज्य सघंका पुर्व अध्यक्ष मुक्त बहादुर वलि (मुकेश),नेपाली कांग्रेस तुलसीपुर १८ का सभापति बिरेन्द्र खड्का,रेडक्रस बिजौरी उपशाखाका सभापति बालकृष्ण रेग्मी लगाएतले यस क्षेत्रमा रहेका विभिन्न समस्याहरुलाई समाधान गर्नका निम्ती आवश्यक बजेटको व्यवस्था गर्न मन्त्रीसामु माग गरेका थिए । बिजौरी उद्योग वाणिज्य सघंका वाणिज्य उपाध्यक्ष डिल्लीबहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपककुमार बस्नेतले गरेका थिए । साथै त्यस अवसरमा बिजौरी उद्योग वाणिज्य सघंले विभिन्न मागहरु राख्दै मन्त्री शर्माले ज्ञापन पत्र समेत बुझाएको थियो ।