आइतबारदेखि आफ्नै भवनबाट सेवा दिदैँ यातायात व्यवस्था कार्यालय राप्ती

मङि्सर २८, २०८०


दाङ, २८ मंसिर । यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरले आईतबारदेखि आफ्नै भवनबाट सेवा दिने भएको छ । तुलसीपुर-६ घोराहीरोडमा भाडाको भवनबाट संचालित कार्यालयले आइतबारदेखि आफ्नै भवन तुलसीपुर-६ को गाइडहरदेखि सेवा दिन लागेको हो । कार्यालयले सामाजिक विकास डिभिजन कार्यालयको भवनबाट सेवा दिन लागेको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिनुभयो ।

गाईडहरबाट सेवा दिनका आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रमुख गौतमले बताउनुभयो । सामाजिक विकास डिभिजन कार्यालयलाई भने तुलसीपुर-१२ मा रहेको शैक्षिक तालिम केन्द्रमा सारिएको छ । गत भदौ ११ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद प्रदेशको बैठकले भाडाको घरमा संचालित यातायात व्यवस्था कार्यालय राप्तीलाई सामाजिक विकास डिभिजनको भवनमा सार्ने निणर्य गरेको थियो ।

कार्यालयले अहिले मासिक करिब ५० हजार भाडामा मात्रै खर्च गरिरहेको कार्यालयका लेखा प्रमुख उत्तम डाँगीले जानकारी दिनुभयो । भाडाको घरमा ठाउँ पनि अपर्याप्त रहेको र भाडामा रकम पनि खर्च भइरहेको अवस्थामा आफ्नै भवनबाट सेवा दिन लागेको उहाँले बताउनुभयो । आफ्नै भवनबाट सेवा दिँदा सेवाग्राहीलाई पनि थप सहजता हुने कार्यालयका प्रशासन प्रमुख लोक बहादुर केसीले बताउनुभयो ।