विल्सन विक्रमले घोषणा गरे फिल्म ‘लाहुरे एण्ड दाउरे’

पुष ०८, २०८०


दयाहाङ राईलाई शीर्ष भूमिकामा लिएर अभिनेता विल्सनविक्रम राईले फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्माण गर्ने भएका छन् । दयाहाङसँग आइतबार लिखित सहमति भएको छ । विल्सनकै निर्माण कम्पनी तक्मे प्रोडक्सनले फिल्म बनाउन लागेको हो । फिल्मको शीर्ष भूमिकामा दयाहाङसँगै विल्सनविक्रम पनि देखिनेछन् । अभिनेत्री र अन्य कलाकारबारे टुंगो लाग्न बाँकी छ ।

कमेडी र लभस्टोरीको कथावस्तुमा निर्माण हुन लागेको फिल्मको लेखन तथा निर्देशन विल्सन स्वयमले गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ । यसअघि केही प्रोजेक्ट बनाउन अन्य ब्यानरसँग सहकार्य गरेको तक्मे प्रोडक्सनले ‘लाहुरे एण्ड दाउरे’को निर्माण भने एक्लै गर्नेछ । फिल्मको निर्मातामा सरिना लामा छिन् । २०८१ सालको साउन वा भदौमा छायांकन तयारी रहेको यो फिल्मको संगीत अनमोल गुरुङले गर्नेछन् ।