‘बलिदान’ मा भित्रन सक्छन् विराज ?

पुष १६, २०८०


निर्माता सन्तोष सेन आफ्नो नयाँ फिल्म ‘बलिदान’मा कलाकारको ‘लाइनअप’ बलियो बनाउने कसरतमा छन् । अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा निश्चित भैसकेको फिल्ममा अब ‘एक्सन स्टार’ विराज भट्टको पनि प्रवेश हुने सम्भावना बढेको छ । टिजर रिलिजपछि फिल्ममा उनको सर्वाधिक माग भएको थियो । अब निर्माण टिमले उनीसँग छलफल अगाडि बढाएको छ ।

आइतबार सेनले विराजसँग काठमाडौंको एक रेस्टुरेन्टमा भेट गरेका छन् । उक्त भेटको तस्वीर फिल्मका निर्मातामध्येका एक प्रेम पुरीले फेसबुकमा सेअर गर्दै क्याप्सनमा ‘जय बलिदान’ भनेर लेखेका छन् । यसले निर्माण टिम विराजसँग सम्झौता नजिक पुगेको संकेत गर्छ । तर, निर्माता पुरीले फिल्मीखबरसँगको कुराकानीमा फिल्मको बारेमा नभइ चिया भेटघाट मात्र भएको बताएका छन् ।

स्रोत भने विराज फिल्मलाई लिएर सकारात्मक रहेको दाबी गर्छ । सबै कुरा सही रहे उनले आगामी साताभित्र फिल्म सम्झौता गर्न सक्ने जनाइएको छ । फिल्म एक्सन प्रधान हुने भएकाले टिजर आएपछि दर्शकले विराजको माग गरेका थिए । यसमा निर्माता सेन पनि सकारात्मक देखिएपछि अब सहकार्यको सम्भावना बढेको छ । फिल्ममा विराज भित्रिए कलाकारको ‘लाइनअप’ भव्य बन्नेछ ।

निर्माता सेनले अभिनेता अनमोल केसीलाई पनि फिल्म अफर गरेका छन् । अनमोल भने फाइनल स्क्रिप्ट पढेपछि मात्र निर्णय दिने सोचमा रहेको स्रोत बताउँछ । निर्माता सेन आफैंले निर्देशन गर्न लागेको फिल्मलाई आगामी दशैंको फूलपातीमा प्रदर्शन गरिँदैछ । माओवादी(सशस्त्र द्वन्द्वको समयताका तराई क्षेत्रमा भएको एउटा कारुणिक नरसंहार घटनामाथि ‘बलिदान’ बन्न लागेको चर्चा छ ।