मेट्रो कलेजमा कोरियन विश्वविद्यालयको बुट क्याम्प

पुष १७, २०८०


तुलसीपुर, १७ पुस । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजमा कोरियन विश्वविद्यालयले युवा र विद्यार्थी लक्षित गरेर बुट क्याम्प सञ्चालन गर्न लागेको छ । कलेजका प्रमुख वसन्त आचार्यका अनुसार नव प्रवर्द्धनात्मक व्यवसायलाई प्रोत्साहन दिने गरी २ दिनसम्म क्याम्प सञ्चालन गर्न लागिएको हो ।

क्याम्पमा कोरियाको ह्यङ्दोङ ग्लोबल युनिभर्सिटी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुको सहभागिता रहने पनि कलेज प्रमुख आचार्यले जानकारी दिनुभयो । पुसको २३ र २४ गते सञ्चालन हुने क्याम्पमा कोरियन र त्रिभुवन विश्वविद्यालयका विद्यार्थीसँगै तुलसीपुरका युवा, व्यवसायी र विद्यार्थीहरुको पनि सहभागिता रहने भएको छ । युवाहरुको व्यावसायिक योजनाका आधारमा उनीहरुलाई लगानीमा प्रोत्साहनका लागि पनि सहयोग गरिने भएको छ ।