तुलसीपुर महोत्सवः ज्योतिले बालिन आगो

फागुन ०२, २०८०


तुलसीपुर, २ फागुन । बुधवार तुलसीपुर महोत्सव-२०८० को आठौं दिन सबैभन्दा बढी दर्शकले मेला अवलोकन गरेका छन् । आयोजकका अनुसार ३० हजार दर्शकले अवलोकन गरेका छन् । चर्चित कलाकारहरु लोकदोहरी गायक खुमन अधिकारी, नविन वली, गायिका तथा मोडल ज्योति मगर, आधुनिक गायक देवेन्द्र बस्नेतलगायतका कलाकारहरुको प्रस्तुति हेर्न दर्शकहरु उर्लिएका हुन् । महोत्सवमा कलाकार खुमन अधिकारीले कोरोना लाछैन, कहिले भेट होला कि नहोला’ लगायतका दर्जनबढी प्रस्तुति राख्दै माहोल बनाइराखेका थिए ।

त्यसपछि करिब ४ बजेतिर महोत्सव स्थलमा छिरेकी ज्योतिले आगो बालिन् । ज्योति महोत्सवमा छिरेपछि उत्साहित दर्शकको भीड नियन्त्रण गर्न आयोजक र प्रहरीलाई धौ–धौ नै भयो । त्यसपछि आफ्नो प्रस्तुति शुरु गरेकी गायिका तथा मोडल ज्योति मगरले ‘जिम्माल बा कि छोरी, अँध्यारोमा लाको माया काली छौ कि गोरी’लगायतका गित गाउँदै नृत्य प्रस्तुत गरिन । उनको प्रस्तुति अवधिभर महोत्सवको पुरै माहोल तातेको थियो । त्यसपछि भने खुमन अधिकारी र ज्योति मगरले दोहरी गायर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवमा सबैभन्दा आकर्षणको केन्द्र बनिन । उनको प्रस्तुति करिब ७ बजेसम्म चलिरह्यो भने दर्शकले पनि पूर्णरुपमा साथ दिए ।

महोत्सवमा भोलि बिहीवार चर्चित ¥यापर लाहुरे आउने भएका छन् । त्यसकार पनि बिहीवार दर्शकको उल्लेख्य उपस्थिति रहने आयोजकले बताएको छ । महोत्सव सांस्कृतिक समितिका संयोजक रुपबहादुर खत्री भन्नुहुन्छ– ‘हामीले दर्शकको अपेक्षाअनुसारका कलाकारहरु ल्याउने गरेका छौं । त्यसकारण पनि मेलामा दर्शकको कमी भएको छैन । दिनप्रतिदिन बढ्दो अवस्थामा छ ।