सौरभले देखेको दुई घटनामा बनेको ‘अगस्त्य’

फागुन १३, २०८०


फिल्मको कथा दुई प्रकारको हुन्छ, यथार्थ र काल्पनिक । प्रायः नेपाली फिल्म काल्पनिक कथामै बन्ने गरेका छन् । यही फागुन १८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘अगस्त्य’को कथा भने निर्देशक सौरभ चौधरी आफैंले देखेको दुई यथार्थ घटनाबाट जन्मिएको हो । फिल्ममा अभिनेता सौगात मल्लले निर्वाह गरेको मानसिक सन्तुलन गुमेको चरित्र पनि वास्तविक व्यक्तिबाटै उठाइएको हो ।

बिहीबार पत्रकारसँगको एक भेटमा निर्देशक चौधरीले भने, ‘मैले जीवनमा देखेका दुई घटनालाई कथामा उतारिएको हुँ । ती घटना लकडाउन अघि र लकडाउनको समयमा देखेको थिएँ । ती दुई घटनालाई ‘मर्ज’ गरेर स्क्रिप्टको ‘कन्सेप्ट’ आएको थियो । यो फिल्म ‘सिनेमाटिक’ छ । अहिलेसम्म समाजको नभनिएको कथा फिल्ममा छ । यो फिल्म हेर्दा जोकोहीले आफ्नै कथा महसुस गर्नुहुनेछ ।

सौगात मल्लको विक्षिप्त चरित्र जन्मिनुको रहस्यबारे पनि उनले भनेका छन्, ‘काठमाडौंको नर्भिक हस्पिटल पछाडि एकजना मान्छे हुनुहुन्थ्यो । उहाँलाई हेरेर नै त्यो क्यारेक्टर उठाएका हौं ।’ टिजर र ट्रेलरले फिल्म मधेशको कथामा आधारित रहेको संकेत गर्छ । निर्देशक चौधरीको बुझाईमा भने यो मधेशको मात्र नभएर देशकै कथा हो । उनले ‘अगस्त्य’को दोस्रो श्रृंखला पनि बन्ने दाबी गरे ।

स्क्रिप्ट लेख्दा कल्पना गरेको क्यारेक्टरलाई स्क्रिनमा उतार्न आफूलाई कुनै समस्या नभएको पनि उनको अनुभव छ । ‘स्क्रिप्ट लेख्दा नै मैले दिमागमा हरेक पात्रको क्यारेक्टर बनिसकेको थिएँ । यसैले त्यसलाई स्क्रिनमा उतार्न कुनै गाह्रो भएन,’ सौरभ भन्छन्, ‘सबै कलाकारलाई आ(आफ्नो काम मज्जाले थाहा छ । सिन अगाडि सामान्य छलफल गर्थ्यौं, त्यसपछि सबैले भनेको जस्तै दिनुहुन्थ्यो ।