दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स र दङ्गाली लायन्स उपाधिका लागि भिड्ने

फागुन १८, २०८०


फागुन १८, तुलसीपुर रोयल्स र दङ्गाली लायन्स दाङको घोराहीमा जारी ‘दाङ क्रिकेट लिग–२’ को उपाधिका लागि भिड्ने भएका छन् । फाइनल खेल शनिबार घोराही–१७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा हुने छ । दाङ क्रिकेट सङ्घको आयोजनामा यही फागुन १४ गतेदेखि सुरु भएको लिग चरणको अन्तिम खेलमा आज तुलसीपुर रोयल्सले घोराही टाइगर्सलाई तथा दङ्गाली लायन्सले देउखुरी वारियर्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् ।


तुलसीपुर रोयल्स लिग चरणका चारवटै खेलमा अपराजित रहँदै आठ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै दङ्गाली लायन्स चार खेलमा तीनमा जित तथा एउटामा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा सहभागी घोराही टाइगर्स चार अङ्कसहित तेस्रो, पुरन्धारा च्यालेन्जर्स दुई अङ्कसहित चौथो तथा लिग चरणमा जितबिहीन रहेको देउखुरी वारियर्स अङ्क तालिकाको पुछारमा रहेको छ ।