लुम्बिनीको ब्राण्डीङको लागि शिखर सम्मेलन गर्न लागेका हौं : मुख्यमन्त्री चौधरी

फागुन १९, २०८०


लुम्बिनीमा हुन लागेको लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलनको तयारी तिब्र पारिएको प्रदेश सरकारले जनाएको छ। यही फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तराष्ट्रिय लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलन हुँदैछ। सम्मेलनमा केही राष्ट्रप्रमुख र नोबेल पुरस्कारहरु सहभागी हुनेछन्। 

लुम्बिनीमा हुन लागेको सम्मेलनलाई दलाई लामालाई जोडेर समेत चर्चा भएको थियो। तर मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनीमा शिखर सम्मेलन आयोजना गरेर लुम्बिनीको ब्राण्डीङ बाहेक अरु कुनै उद्देश्य नरहेको दाबी गरे। लुम्बिनीको ब्राण्डीङको लागि हामीले सम्मेलन गरेका हौं। बालकालिका, विकास र शान्तिका बारे मात्र छलफल हुने छ। उनले भने किन भ्रम छर्न खोजिएको छ बुझ्न सकिएन। सुरुदेखी हामीले परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेका छौं। छिमेकीलाई असर पार्ने कुनै गतिविधि गर्दैनौं।

शनिवार बुटवलमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री चौधरीले शिखर सम्मेलनले बुद्धजन्मस्थल लुम्बिनी एवं लुम्बिनी प्रदेशबासीको शिर उचो बनाउने गरिमा बढ्ने मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताए। यसले अन्तराष्ट्रिय मञ्चमा नेपालको साथै लुम्बिनी प्रदेशको प्रतिष्ठा समेत अभिवृद्धि हुने आफूले विश्वास लिएको उनको भनाइ छ।

फागुन २८ गते लुम्बिनीको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शिखर सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने छन्। उद्घाटन समारोहमा ४ हजार जना सहभागी हुने मुख्यमन्त्री चौधरीले जानकारी दिए। उद्घाटन समारोहपछि विषयगत छलफल कार्यक्रममा ३ सय जना विज्ञ र विशिष्ठ अथिती सहभागी हुने उनले बताए । विभिन्न शिर्षकमा समहुगत छलफल गरि २९ गते अपरान्ह साढे ३ बजे मायादेवी मन्दिर परिसरमा घोषणा पत्र जारी भएर शिखर सम्मेलन सकिने छ । लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलनमा सहभागीहरुलाई पाल्पाको तानसेन, बर्दिया राष्ट्रिय निकुञ्ज र प्युठानको स्वर्गद्धारी भ्रमण गराइने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८० ८१ को बार्षिक नीति तथा कार्यक्रम मार्फत लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलनको आयोजना गर्ने घोषणा गरेको हो। सम्मेलनको लागि चालु आर्थिक वर्षमा ६ करोड ५० लाख रुपैया बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भएपनि सम्मेलन आयोजना गर्दा बढिमा २ करोड मात्र राज्यको खर्च हुने मुख्यमन्त्री चौधरीले दाबी गरे।