फेरि रेशम फिलिली’ बन्ने, शीर्ष भूमिकामा विनय र सुपुष्पा

बैशाख १९, २०८१


काठमाडौं १९ , २०७२ सालमा रिलिज भएको चर्चित नेपाली फिल्म ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला बन्ने भएको छ । निर्माता र कलाकार हेरफेर गर्दै फिल्मको सिक्वेल ‘फेरि रेशम फिलिली’ निर्माण हुने भएको हो । यो फिल्मका स्क्रिप्ट डक्टर मनोज पण्डितले स्क्रिप्टले पूर्णता पाएको जनाउँदै सामाजिक सञ्जालबाट प्रोजेक्टको खुलासा गरेका छन् ।

‘दिमाग खराब’ फेम्ड रौनकविक्रम कँडेलले निर्माण गर्ने यो फिल्मको शीर्ष भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया हुनेछन् । विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ । मेनुका प्रधान श्रृंखलाबाट बाहिरिएकी छन् ।‘ब्लकबस्टर बाटोमा आउँदैछ,’ स्क्रिप्ट डक्टर पण्डितले लेखेका छन्, ‘निर्देशक कथामा स्पष्ट भएपछि निर्माता खुसी भएर पुरस्कृत गर्दै ९बीस रुपैयाँ मात्र० र जोसिएर प्लट इन्पुट गर्दै । दिमाग खराबपछि अर्को धमाकेदार फिल्म बनाउँदै रौनक कँडेल । बधाई तथा शुभकामना ।’

पण्डितले यो समूहको अघिल्लो फिल्म ‘दिमाग खराब’को पनि स्क्रिप्ट डक्टरिङ गरेका थिए । ‘फेरि रेशम फिलिली’लाई डेब्यु निर्देशक निरोज महर्जनले निर्देशन गर्नेछन् । अघिल्लो भागलाई प्रणव जोशीले निर्देशन गरेका थिए । यो फिल्मलाई आकाश बरालले लेखेका हुन् । सहनिर्मातामा सुरज बम र एनी थापा छन् । फिल्म निर्माणमा विनयको कम्पनी भी–मोसन पिक्चर्स पनि जोडिएको देखिन्छ । थापा भी–मोसन पिक्चर्सकी प्रमुख तथा अभिनेता विनयकी श्रीमती हुन् ।

यो सोसल–कमेडी फिल्मले वर्तमान नेपाली समाजलाई कटाक्ष गर्ने स्क्रिप्ट डक्टर पण्डितले बताए । फिल्मको छायांकन चाँडै सुरु हुने जनाइएको छ । ‘रेशम फिलिली’ रिलिज भएको भोलिपल्ट नेपालमा महाविनाशकारी भूकम्प गएको थियो । भूकम्पले प्रदर्शन प्रभावित बनेको थियो । ‘पिरतीको छाता ओढाउन’ बोलको गीतले फिल्मको ओपनिङ मद्दत गरेको थियो ।