तुल्सीपुर यातायात व्यवस्था कार्यालयका प्रमुखले उडाए सरुवापत्रको धज्जी

बैशाख २८, २०८१


बैशाख २८, तुल्सीपुर स्थित यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुखले मन्त्रालयबाट प्राप्त सरुवापत्रको धज्जी उडाएका छन । कार्यालय प्रमुख रमेश गौतमले लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको आफ्नै सरुवाको निर्णय लत्याएको कर्मचारीहरु बताउँछन् । गौतम गत वर्ष असार ११ गतेको सरुवापछि यातायात व्यवस्था कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेका थिए । तर फागुन १९ गते उनको सरुवा उद्योग तथा यातायात व्यवस्था मन्त्रालय देउखुरीमा भयो । मुख्यमन्त्री कार्यालयको सचिवस्तरको बैठकले गरेको उक्त निर्णय भोलिपल्टै चलानी गरिए पनि हालसम्म कार्यान्वयन भएको छैन ।

प.स.०८०/८१, च.नं. १५१९ को पत्रानुसार उनलाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयमा खटाइएको छ । तर हालसम्म रमाना नलिएपछि गौतम कार्यालय प्रमुखको जिम्मेवारीमा नै छन् । उनको सरुवापछि मुख्यमन्त्री कार्यालयबाट सरुवा भएर त्यहाँ हाजिर भएका आठौं तहका अधिकृत विनोद पौैडैललाई मोटरसाइकल फाँटको जिम्मेवारीमा सीमित गराइएको छ । सरुवा हुँदा पनि कुर्सी नछाडेपछि कर्मचारीहरुले नै अनेक प्रचार गर्न थालेका छन् । पछिल्लो समय कार्यालयको अवस्था गञ्जागोल हुँदै गएको उनीहरुको भनाइ छ । कतिपय गाडी पास बेरितमा भएको, सवारी चालक अनुमतिपत्र जारीलगायत कार्यालय खर्चमा मनोमानी गरिएको आरोपसमेत छ । विभिन्न ट्रायल सेन्टरहरुले कुरो नमिलेपछि कार्यालय प्रमुखले दुःख दिएको गुनासो पनि सुन्न थालिएको कर्मचारीहरु बताउँछन् ।

यसअघि मुख्यमन्त्री कार्यालयबाट रुपन्देहीको एक स्थानीय तहमा सरुवा भएका उनलाई पालिकामा हाजिर नगराई फर्काइएको थियो । यातायात कार्यालयको घरभाडाको विषय पनि यतिखेर पेचिलो बनेको छ । गत पुस १ गतेदेखि यातायात कार्यालय सरकारी भवनमा सरेको छ तर यसअघि भाडामा बसेको घर छाडिएको छैन । साबिकको सीप विकास कार्यालयबाटै अहिले यातायात कार्यालयले सेवा दिइरहेको छ । उता घरधनीसँगको मिलोमतोमा मासिक ६० हजार रुपैयाँ भाडा तिरेपछि धेरैवटा शंका गर्ने ठाउँ मिलेको हो । उक्त खर्चले राज्यकोषमा अनावश्यक व्ययभार थपेकोमा कर्मचारीहरुको एउटै स्वर छ । सरुवाको विषयमा गौतमले अनौपचारिक रुपमा भदौसम्म आफैं कार्यालय प्रमुख हुने जानकारी दिएपछि कर्मचारीहरुले आश्चर्य जनाएका हुन् ।