लुम्बिनीका मुख्यमन्त्री महरालाई एमालेले भन्यो- राजीनामा दिनुस्

असार २१, २०८१


नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा दिन आग्रह गरेको छ।

बिहीबार मुख्यमन्त्री महरालाई भेट गर्दै एमाले लुम्बिनीका प्रमुख सचेतक तुलसी चौधरीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।

चौधरीले संघीय सरकारमा एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेको अवस्थामा लुम्बिनीमा पनि एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेकाले आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको बताए।

एमालेले समर्थन फिर्ता लिने तयारी गरिरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति मुख्यमन्त्री महराले राजीनामा दिए उपयुक्त हुने चौधरीले बताए।

‘हामीले समर्थन फिर्ता लिएर छोड्नु भन्दा आफैले राजीनामा दिएर मार्ग प्रशस्त गर्दा तपाईको उचाइँ पनि बढ्छ, राजनीति अहिलेलाई मात्र होइन धेरै लामो राजनीतिक यात्रा गर्नु छ भनेर मैले सुझाव दिएँ,’ चौधरीले भने।

चौधरीले गठबन्धनको यात्रा सधैको लागि टुंगिएको भनेर नसोच्न पनि आग्रह गरेको बताए।

‘अहिलेको लागि गठबन्धनको सहयात्रा टुंगिए पनि सधैँको लागि टुंगिएको होइन भनेर पनि मुख्यमन्त्रीलाई भनेको छु,’ चौधरीले भने।

मुख्यमन्त्री महराले भने असार २४ गतेसम्मलाई समय दिन आग्रह गरेको चौधरीले भने।