लायन्स क्लब ईशान द्वारा विद्यार्थीका लागि न्यानो कपडा वितरण
दाङ १५, पौष तुलसीपुर उपमहानगरपालिका वडा नं.७ मा रहेको मा वि कालाखोलामा अध्ययनरत १४ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ तुलसीपुर ईशानले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको हो ।
गरिब, विपन्न, जेहेन्दार तथा आर्थिक अवस्था कम्जोर भएका विद्यार्थीको पहिचान गरी न्यानो कपडा वितरण गरेको लायन्स क्लब अफ तुलसीपुर इशानका उपाध्यक्ष दिपक के सी ले जानकारी दिनुभयो । क्लवका अध्यक्ष रमेश रेग्मीकाे अध्यक्षता, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आथित्यता तथा मा.वि.कालाखोलाका प्रधानाध्यापक राजीव ओझाको विशिष्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
साे अवसरमा वाेल्दै प्रमुख अतिथि जिसीले ग्रामीण क्षेत्रको विद्यालयमा आएर संस्थाले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राख्नुभएको थियाे । विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा मावि कालाखोलाका प्रधानाध्यापक राजिव ओझाले संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । न्यानो कपडा वितरण कार्यक्रमका संयोजक एकराज देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव केशवराज न्यौपानेले गर्नुभएको थियो ।