जनतामा विकास र समृद्धि पुर्‍याउने दुई ठूला दल एक ठाँउमा : महासचिव पोखरेल

जेठ ०८, २०८२


दाङ ७ जेष्ठ, तुलसीपुर र घोराही उपमहानगरपालिका जोड्ने ग्रामीण सडकको शिलन्यास गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल,पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भुमेश्वर ढकालले संयुक्त रूपमा सडकको शिलान्यास गर्नुभएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर,१८,१६,१५ हुँदै घोराही उपमहानगरपालिका वडा नम्बर ९ समेत उक्त ग्रामीण सडकले जोड्ने छ । सडकको शिलान्यास गर्दै नेकपा एमालेमा महासचिव एवम लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्दिका लागि दुई ठूला दल मिल्नुपरेको र त्यो नतिजा विस्तारै देखिन थालेको बताउनुभयो । उहाँले दाङको विकासमा महत्वपूर्ण ठानिएको घोराही तुलसीपुर फोरलेन सडकखण्ड आर्थिक वर्ष २०८१।८२ भित्रै काम सुरु हुने र टरिगाउँ धावनमार्ग विस्तारका लागि आर्थिक वर्ष २०८२/८३को बजेटमा सम्बोधन हुने बताउनुभयो । उहाँले ग्रामीण सडकको स्तरीकरणसँगै आर्थिक क्रियाकलापसँग जोडिने समेत बताउनुभयो ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालका दुई ठूला दल एक ठाउँमा आउँदा दाङमा विकासले फड्को मार्दै गएको बताउनुभयो । उहाँले प्रदेशलाई आर्थिकरूपले सक्षम र सबल बनाइ जनतामा देखिएको नैराश्यता हटाइने बताउनुभयो । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले ग्रामीण जनताको जीवनस्तर उकास्न र आर्थिकस्तर सबल र सक्षम बनाउनका लागि ग्रामीण सडकको कालोपत्रे सुरु गर्न थालिएको बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले ग्रामीण सडक निर्माण भएसँगै घोराही खैरा हुँदै कोठहरी, कन्जवार हुँदै बिजौरी जोडिँदा चक्रपथ सडकका रुपमा विकास हुने बताउनुभयो ।

बिजौरी, बासडबरा, जमुनी, लक्ष्मीपुर, दक्षिण कुरहरिया, कन्जवार कोठरीसम्म जोड्ने सडकको लम्बाइ १५.५८ किलोमिटर रहेको छ । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव भिर्माजुन पाण्डेका अनुसार सम्झौता बमोजिम २०८१ चैत ११ गते काम सुरु भई २०८३ चैत ११ गते योजना सम्पन्न हुनेछ । अस्फास्ट कालोपत्रे सडक निर्माणका लागि ४४ करोड ८ लाख ७७ हजार सात सय १५ रुपियाँमा सम्पन्न हुने गरी सम्झौता गरिएको छ ।