अनमोलको फिल्म ‘बाटुलो जून’ कात्तिक २६ मा आउने
अभिनेता भुवन केसीको निर्देशन रहेको फिल्म ‘बाटुलो जून’ भाइटिकाको भोलिपल्ट अर्थात् कात्तिक २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बुधबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो । यसअघि फिल्मलाई दसैँमा रिलिज गर्ने भनिए पछि प्रदर्शन मिति तिहारपछि पुर्याइएको हो ।
‘यसअघि दसैँको अवसरमा प्रदर्शनमा आउने वाचा गरे पनि दसैँमा अन्य चार फिल्म पनि प्रदर्शनमा आउने र थप अर्को फिल्म पनि आउँदा पर्दाको बाँडफाँडमा समस्या आउने प्रदर्शक र वितरकको सुझावलाई मध्यनजर गर्दै हामीले नयाँ मितिमा प्रदर्शन गर्ने निधो गरेका हौँ । भिडेर जान भन्दा पनि मिलेर जानमा नेपाली फिल्म उद्योगको भलाइ छ’ फिल्मको नयाँ मिति घोषणा गर्दै भुवनले भनेका छन् ।
फिल्मको सार्वजनिक पोस्टरमा अनमोल केसी र प्रिन्सी खतिवडा प्रेमिल मुद्रामा देखिएका छन् । अनमोलको लुक्सले ५० को दशकको झल्को दिन्छ । पृष्ठभूमिमा बलिरहेको लाल्टिन र आकाशको टहटह जूनले उनीहरूको सम्बन्धमा रहेको आत्मीयतालाई दर्साएको छ । पोस्टरले फिल्म ग्रामीण परिवेशमा बुनिएको प्रेमकथामा आधारित रहेको प्रस्ट पार्छ ।
सानराइज पिम्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जीया केसी र भविष्य खड्का हुन् । विवेक थापा सह निर्मातामा छन् । सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा अनमोल र प्रिन्सीसँगै भुवन केसी, नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी लगायतको अभिनय छ ।







