टरिगाउँ विमानस्थल विस्तारको सम्भावना, प्राविधिक अध्ययनपछि काम अघि बढाइने

असोज २१, २०८३


तुलसीपुर, असोज २१। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्य र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक मुकेश डंगोल सहितको टोलीले दाङको टरिगाउँ विमानस्थलको स्थलगत निरीक्षण गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका-१२ स्थित विमानस्थलको निरीक्षणपछि मन्त्री पौडेलले विमानस्थलको धावनमार्ग करिब ६ सय मिटरसम्म विस्तार गर्न सकिने प्रारम्भिक सम्भावना देखिएको बताए । उनले हालको धावनमार्गलाई ‘टिल्ट’ गर्नुपर्ने भनिए पनि स्थलगत निरीक्षणका क्रममा सिधै विस्तार गर्न सकिने सम्भावना देखिएको बताए ।

‘यो विमानस्थल अब विस्तार हुन्छ,’ मन्त्री पौडेलले भने, ‘महामन्त्रीज्यूको जिल्लाको विमानस्थल नबनी हुन्छ?’ रास्वपा महामन्त्री आचार्यले टरिगाउँ विमानस्थल विस्तारको पहल कुनै व्यक्तिविशेषका कारण नभई यसबाट दाङसहित आसपासका जिल्लाका करिब १७/१८ लाख जनसंख्यालाई लाभ पुग्ने भएकाले गरिएको बताए।