कविता : आस्थाको दियो

चैत २४, २०७६


सपना बोहोरा

मैले दियो बाल्दा तिमिलार्ई रिस हुन्छ भने
म अझै दियो बाली रहन्छुँ
तेल थपी थपी ।
मैले थपेको त्यो तेलले
दियो झन धपक्क बल्ने छ
अझ झक्क हुनेछ
मेरो आस्थाको दियो ।

सक्छौ,
आउ निभाइदेउ दियो
छ्ताछुल्ल पारिदेउ तेल
अनि टुक्र टुक्रा पारिदेउ देउ

अहं
आएन है आँट ?
सकेनौ निभाउन मेरो आस्थाको दियो ?
अरे पटमूर्ख
कसरी आउथ्यो हिम्मत ?
तिमिलार्ई यस धर्तिमा
तिम्रो आमाले स्वागत गर्दा
दियो नै जलाएकी थिइन्
अनि तिम्रो नाम राख्दाको रात
दियोको भरमा गुजारेकी थिइन्

अ साच्चै
तिमिलार्ई याद छ
अस्ति मन्दिरमा
तिम्ले भगवानको मूर्तिमा
जोडले हिर्काएका थियौ
राता ठूलो आँखा पार्दै
तिमिले रिस पोखेका थियौ
तिमिलार्ई अलिकती पनि हेक्का
भएन है ?

त्यो हिर्काइ त्यो मूर्तिमा थिएन
मेरो आस्थामा तिमिले हिर्काएको थियौ
मेरो हृदयमा हिर्काएको थियौ
उफ
मैले बेकारमा मन दुखाए छुँ
तिम्ले दियो निभाउने कुरा गर्दा
अरे, तिमी त परिबर्तनकारी
कति चाडै बिर्सिएछौ है ?
त्यही दियोको उज्यालोमा कखरा पढेको
म पनि हेर्छु
तिम्ले दियोको उज्यालोलाई कसरी परिवर्तन गर्नेछौ

आउ,
निभाइदेउ दियो
छ्ताछुल्ल पारिदेउ तेल
अनि टुक्र टुक्रा पारिदेउ देउ
अहं, तर कदापि सक्ने छैनौ
मेरो आस्थाको दियो
यति सजिलै निभाउन