लकडाउन खुकुलो बनाउँने हतार नगरौं, थप क्षति हुनसक्छः डब्लूएचओ

चैत २९, २०७६


कोरोना भाइरसको महामारी नियन्त्रणका लागि गरिएका लकडाउनसहितका उपाहरु चाँडै नै अन्त्य गर्दा संक्रमणको डरलाग्दो ढंगबाट पुनरावृत्ति हुन सक्ने भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभाबित युरोपका स्पेन र इटालीले निर्माण तथा औद्योगिक उत्पादन क्षेत्रका केही कामहरु सोमबारदेखि सञ्चालन गर्ने तयारी गरिरहेका बेला डब्लूएचओले यस्तो चेतावनी दिएको हो।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले संक्रमण प्रभाबित देशहरुले प्रतिबन्ध खुकुलो बनाउँदा सचेत हुनुपर्नेमा जोड दिएका छन्। प्रतिबन्धका कारण आर्थिक संकट आउने भए पनि प्रतिबन्धले मानव जीवनको रक्षा गरिरहेकाले हतारो गर्न नहुनेमा उनको भनाई छ।

युरोपमा सबै भन्दा बढी प्रभावित भएका स्पेन र इटालीमा केही प्रतिबन्धहरु खुकुलो पारिएको छ र त्यहाँ लकडाउन भने लागु छ। उनले भनेका छन्, ‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पहिले भन्दा घातक हुन सक्छ। राम्रोसँग व्यवस्थापन गरिएन भने बढ्दो क्रमको भन्दा घट्दो क्रमको संक्रमण जोखिमपूर्ण हुन्छ।’