नेपाली सिनेमाका लागि वर्ष-२०७६ (समिक्षा)

बैशाख ०१, २०७७


शिब पुन
बैशाख-१,दाङ। मेघास्टार र युवा स्टार त्याग धारी अहिलेका सर्वाधिक महङ्गा नायक द्वोय अनमोल के.सी. र प्रदीप खड्का बिनाको वर्ष -२०७६ अर्थात् यो वर्ष अनमोल र प्रदीपका कुनैपनी फिल्म रिलिज भएनन्। नेपाली सिनेमा क्षेत्रमा नयाँ परिक्षण गर्दै शुरु भएको वर्ष २०७६ नेपाली सिनेमा क्षेत्रका लागि सुखद वर्ष बन्न सकेन। दीपक-दीपाको समुहले निर्माण गरेको ब्लकबस्टर फिल्म “छक्का-पन्जा-२” को पुनःरिलिज नै वर्ष २०७६ को पहिलो रिलिज फिल्म बन्यो तर नेपालको लागि पहिलो प्रयोग पुनःरिलिज सिस्टम भने सफल हुन सकेन फलस्वरूप फ्रेस रिलिजमा धमाका मच्याएको फिल्मले पुनःरिलिजमा कुनै कमाल गर्न सकेन। त्यसपछि बैशाख-१३ मा रिलिज भयो फिल्म ‘कालो वर्ष’जुन फिल्म हलमा आएको गएको दर्शकले पत्तो नै पाएनन् भन्दा फरक नपर्ला। रिलिजको हिसाबले ‘कालो वर्ष’दोस्रो फिल्म भएपनि फ्रेस रिलिजमा यो नै वर्षको पहिलो फिल्म बन्न पुग्यो र वर्ष २०७६ को खराब सुरुवात गर्न पुग्यो । ‘कालो वर्ष’ पछि बैशाख २० मा वर्षकै प्रतिक्षित फिल्मका रुपमा हेरिएको हास्य कलाकार किरण के.सी.ले मह संचार संग मिलेर निर्माण गरेको फिल्म ‘दाल भात तरकारी’प्रदर्सनमा आयो तर फिल्मले दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया पाउन नसक्दा फिल्म लगानी उठाउन मै सिमित बन्यो।यस्तै बैशाखको अन्तिम शुक्रबार अर्थात् २७ गते गौरव पहारी र अनु शाहको मुख्य भुमिका रहेको फिल्म ‘पसिना’रिलिज भयो तर यो फिल्मले पानीसमेत भन्न पाएन।यसरी वर्ष पहिलो महिना बैशाखमा जम्मा ४ वटा फिल्म प्रदर्शन भएपनी किरण के.सी.का छोरा सुदन के.सी.को डेब्यु निर्देशन तथा हरिवंश आचार्य,निरुता सिंह,पुष्प खड्का,आँचल शर्मा जस्तो स्टारले भरिएको मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ले मात्रा लगानी उठाउन सफल रह्यो।

यस्तै जेठमा जात्रैजात्रा,वीरबिक्रम-२,कप्स,कुम्भकरण,काउसो,रेस,प्रेम दिवस र झट्का गरि जम्मा ८ वटा फिल्म रिलिज भए जसमा मिलन चाम्सको निर्देशन र पल शाह,नाजिर हुसेन,वर्षा सिवाकोटी जस्ता स्टारले अभिनय गरेको फिल्म ‘वीरबिक्रम-२’ले ठिकठाकको व्यापार गर्दा सुपरहिट फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ले बम्पर कलेक्सन गर्न सफल भयो।प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा विपिन कार्की,वर्षा रावत,रवीन्द्र झा,दयाहाङ राई लगाएत कलाकारको जबर्जस्त अभिनय रहेको थियोे।नेपालबाट मात्रै करिब १० करोड ग्रसको कलेक्सन गरेको ‘जात्रै जात्रा’नै वर्ष २०७६ को पहिलो ब्लकबस्टर फिल्म बन्यो।
वर्षको तेस्रो महिना असारमा आप्पा,कीर्तिपुर र सानो मन गरी फिल्म पनि ३ वटा मात्र रिलिज भए। दयाहाङ राई को प्रमुख भुमिका भएको फिल्म ‘आप्पा’ र शिल्पा मास्के अभिनित ‘सानो मन’ लाई रिलिज पुर्व आशातित फिल्मका रुपमा लिइएपनी हलमा यी दुबै फिल्मले कमाल देखाउन सकेनन्।फलस्वरूप असार महिना नेपाली सिनेमाका लागि कालो महिना बन्न पुग्यो।

यता असार महिना ३ वटा मात्रै फिल्म रिलिज हुँदा श्रावणमा भने घर,बदला,एकलव्य,सुपर गोर्खे,न यता न उता,रातो गलबन्दी,साइनो,रे,काचुली र हजार जुनी सम्म गरि १० वटा फिल्म प्रदर्शनमा आए तर रिलिज भएका सबै फिल्म व्यवसायिक रुपमा असफल भए र श्रावण महिनामा मात्रै करिब ६ करोड रुपैयाँ बालुवामा पानी खन्याए सरह हुनपुग्यो। अर्पन थापाले निर्देशन गरेको हरहर जनराको फिल्म ‘घर’,नेपालकि पहिलो नायिका भुवन चन्दले निर्माण गरेको ‘साइनो’ र विकाशराज आचार्यको निर्देशन र चक्लेटी नायक आर्यन सिग्देलको मुख्य भुमिका रहेको फिल्म ‘हजार जुनीसम्म’लाई श्रावण महिनाका प्रतिक्षित फिल्मको रुपमा हेरिएपनी यी तीनवटै फिल्मले दर्शक र समिक्षकबाट राम्रो प्रतिक्रिया पाउन सकेनन् फलतःव्यवसायिक हिसाबमा पनि असफल नै रहे।

ओरालो लागेको फिल्मी बजारको गति भाद्र महिना पनि झरी नै रह्यो। भाद्रमा जाइरा,मारुनी,सोच,पासवर्ड र हिरो नम्बर १ गरि ५ फिल्म प्रदर्शनमा आए तर जति आए ती सबै गएपनी अर्थात् फिल्मी भाषामा भन्नुपर्दा वासआउट भए। त्यसो त भाद्र महिना पनि केही आशा गरिएका फिल्म रिलिज भएका थिए जस्तो कि ब्युटीफुल एवं ट्यालेन्टेट नायिका नम्रता श्रेष्ठको ड्रीम प्रोजेक्ट ‘जाइरा’ र बलिउड नायिका सन्नी लियोनीले आइटम डान्स गरेर चर्चामा आएको फिल्म ‘पासवर्ड’ ले रिलिज पुर्व सिनेमा बजार तताएकै थिए तर रिलिज पश्चात् भने दर्शक हलसम्म तान्न सकेनन् र दुबै फिल्म असफल भए।त्यस्तै भाद्र-१३ मा रिलिज भएको नवल नेपाल निर्देशित एवं पुष्प खड्का र साम्राज्ञी आर.एल.शाह अभिनित फिल्म ‘मारुनी’ले दर्शक र समिक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाउदापाउदै पनि पैसा बने छाप्न सकेन।
यसरी जेठ ३ मा प्रदर्शन भएको ‘जात्रै जात्रा’ पछी रिलिज भएका कुनैपनी फिल्म राम्रो व्यापार नगरेर करिब ४ महिनादेखि नराम्ररी थलो परेको सिनेमा बजारलाई असोजमा भने ठुलो राहत मिल्यो र बिजुलीको बिल तिर्नसम्म हम्मेहम्मे परेका हलहरुले कर्मचारीलाई तलब खुवाउनसम्म सक्ने भए।असोजमा कबड्डी कबड्डी कबड्डी,रातो टीका निधारमा,काले दाइ,शिवम र छ माया छप्पकै गरि ५ वटा फिल्म प्रदर्सनमा आए।जसमध्ये असोज १७ मा रिलिज भएका ‘काले दाई’ र ‘शिवम’ ले पोस्टरको पैसा पनि उठाउन सकेनन् भने पुराना निर्देशक,निर्माता तथा कलाकार अशोक शर्माले निर्माण एवं निर्देशन र उनकै छोरा अंकित शर्मा र साम्राज्ञी आर.एल.शाहको मुख्य भुमिका रहेको ‘रातो टीका निधारमा’ ले ठिकठाकको व्यापार गर्न सफल भयो। यस्तै असोज ३ बाट प्रदर्शन भएको रामबाबु गुरुङ निर्देशित सफल फिल्म ‘कबड्डी’को तेस्रो सिरिज ‘कबड्डी कबड्डी कबड्डी’ले कमालको व्यापार गर्‍यो र जेठ ३ पछि नेपाली सिनेमा बजारले अर्को ब्लकबस्टर फिल्म पाउन ठिक ४ महिना अर्थात् असोज ३ नै कुर्नुपर्‍यो।दयाहाङ राई,उपासना सिंह ठकुरी,कर्मा,विल्सन विक्रम राई लगाएतका कलाकारको अभिनय रहेको फिल्मले नेपाल बाट मात्र करिब १२ करोड ग्रसको कलेक्सन गर्न सफल रह्यो। त्यसैगरी असोज २४ बाट रिलिज भएको दीपक-दीपाले रोहित अधिकारी संगको सहकार्यमा निर्माण गरेको फिल्म ‘छ माया छप्पकै’ले पनि आक्रामक व्यापार गर्‍यो र नेपाली सिनेमाले वर्ष २०७६ मा अर्को एउटा सुपरडुपरहिट सिनेमा पाउन सफल भयो। दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘छ माया छप्पकै’ ले नेपालबाट मात्र करिब १४ करोड ग्रसको कलेक्सन गर्न सफल भयो र वर्षकै सर्वाधिक कमाउने फिल्म पनि बन्न सफल भयो।

सोजमा २ वटा फिल्म ब्लकबस्टर हुँदा नेपालीको दोस्रो ठुलो पर्व तिहार लाई लक्षित गर्दै कार्तिक महिनामा रिलिज भएका घामड शेरे,पोइ पर्‍यो काले,मिष्टर नेपाली र सम्हाली राख है यी ४ वटै फिल्मले भने अपेक्षाकृत व्पापार गर्न सकेनन्। असोजमा माथि उठेको बक्स अफिसको ग्राफ फेरि खस्किन पुग्यो। विषेशगरी हेमराज वि.सी.को एक्सनकट अनि रियलकपल निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म ‘घामड शेरे’ र आकाश श्रेष्ठ,पुजा शर्मा,सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर ‘पोइ पर्‍यो काले’लाई वर्षकै सम्भावित फिल्मको रुपमा लिइएको थियो तर त्यसो भने हुन सकेन र फिल्मले नाफा त परै जाओस् लगानीसम्म उठाउन मुस्किल पर्‍यो।

यस्तै मङ्सिर महिनामा च च हुई,सरौतो,लभ यु हमेशा,मखमली मखमली,माछा माछा र माया पिरिम गरि ६ वटा फिल्म प्रदर्शनमा आए। तर रिलिज भएका कुनै पनि फिल्मले दर्शक हलसम्म तान्न सफल भएनन्।मङ्सिरमा आर्यन सिग्देल र मिरुना मगरको मुख्य भुमिका रहेको फिल्म ‘च च हुई’ र मल्टिप्लेक्सका दर्शकलाई लक्षित गरि निर्माण गरिएको सौगात मल्ल,विजय बराल जस्तो थिएटरबाट आएका कलाकार स्टारर ‘माछा माछा’ ले रिलिज पुर्व राम्रो हाइप क्रेट गरेपनी रिलिज पश्चात् भने दर्शक हलसम्म आउने आट गर्न सकेनन्।
अघिल्लो वर्ष जस्तै यो वर्षको पुस महिनामा पनि चलेका कलाकार वा व्यानरले काम गरेका कुनै फिल्महरु रिलिज भएनन् र सदाका वर्ष झै यो वर्षको पुस महिना फिल्म बजारका लागि कालो महिना साबित बन्न पुग्यो।
माघी पर्वलाई लक्षित गरेर आफ्नो फिल्म रिलिज गर्न तछाडमछाड गर्ने निर्माता निर्देशकहरु यो वर्ष भने शान्त भएरै बसे र दर्शकले माघीमा कुनैपनी फ्रेस नेपाली फिल्म हेर्न पाएनन्।त्यसो त माघमा पनि फिल्म रिलिज नभएका भने होइनन् माघमा १२ सत्ताइस,दि कर्मा,साङ्लो र सेल्फी किङ गरि ४ फिल्म रिलिज भएका थिए।६० को दशकमा नेपाली सिनेमा क्षेत्रमा एक्सन स्टारको छवि बनाएर सिनेमा बजारमा कब्जा जमाएर बसेका नायक विराज भट्ट को कमब्यागका रुपमा लिइएको र उनैको डेब्यु निर्देशन रहेको फिल्म ‘साङ्लो’ र भर्सटाइल एक्टरको छवि बनाएका नायक विपिन कार्कीको मुख्य भुमिका रहेको ‘सेल्फी किङ’ले करिब ३ महिना देखि (कार्तिकदेखि) सेलाएको नेपाली सिनेमा बजारलाई चलाएमान गराउन सक्ने फिल्मका रुपमा लिइएको थियो।तर यी दुई फिल्ममा ‘सेल्फी किङ्ग’फ्लप हुँदा ‘साङ्लो’ले भने सोचे अनुसार कमाल गर्न नसके पनि केहि हदसम्म भने सिनेमा बजारलाई तताउन सफल नै रह्यो।
र वर्षको अन्तिम दोस्रो तर सिनेमा बजारका लागि यो वर्ष अन्तिम महिना भएको फागुनमा पनि लभ डायरिज,आमा,सेन्टी भाइरस र धुलो गरि ४ वटा फिल्म प्रदर्शनमा आए।पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहेका हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले पहिलो पटक निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ले सुरुको दुई दिनमा आक्रामक व्यापार गरेपनी समिक्षक र दर्शकबाट पोजेटिभ भन्दा धेरै नेगेटिभ रिभ्यु पाउँदा तेस्रो दिनबाट भने फिल्मको व्यापार कमजोर बन्दै गयो र ‘सेन्टी भाइरस’लाई लगानी उठाउनै हम्मेहम्मे पर्‍यो। त्यसैगरी ‘सेन्टी भाइरस’संगै फागुन ९ बाट प्रदर्शन भएको दिपेन्द्र के.खनाल निर्देशित फिल्म ‘आमा’सुरुमा कमजोर गरेपनी वर्ड अफ माउथ निकै राम्रो पाएपछि क्रमशःव्यापार बढाउदै लग्यो र आफ्नो लगानी सुरक्षित गर्दै नाफा समेत कमायो।

यसरी वर्ष ०७६ लाई फर्केर हेर्दा नेपाली फिल्म क्षेत्र असफल नै रह्यो। फिल्म ‘कालो वर्ष’ बाट प्रदर्शन सुरु भएको वर्ष ‘धुलो’ मा पुगेर अन्त्य भयो । वर्ष २०७५ करिब १०० वटा फिल्म प्रदर्शनमा आएका थिए भने यो वर्ष त्यो भन्दा धेरै थोरै करिब ५५ फिल्म मात्र प्रदर्शनमा आए । प्रदर्शनका लागि पाइपलाइनमा बसेर प्रचारप्रसार समेत सुरु गरि सकेका फिल्महरु ‘म यस्तो गीत गाउँछु -२’,‘प्रेमगीत-३’,‘चपली हाइट-३’लगाएत फिल्म कोरोना भाइरसको कारण प्रदर्शनमा आउन सकेनन् । यो बर्ष समेत अन्य बर्ष झैँ कुनै हप्ता धेरै नेपाली फिल्म एक साथ प्रदर्शनमा आए भने कुनै महिना हलले नेपाली फिल्म प्रदर्शन गर्ने मौका नै पाएनन् । समग्रमा भन्दा यो बर्ष सिक्वेल र स्थापित व्यानरबाट बनेका फिल्मले नै नेपाली सिनेमालाई टिकाए। यो वर्ष प्रदर्शनमा आएका फिल्ममध्ये ‘छ माया छपक्कै’,‘कबड्डी कबड्डी कबड्डी’ र ‘जात्रै जात्रा’ले बम्पर कलेक्सन गर्दै क्रमशःसर्वाधिक धेरै कमाउने फिल्मको पहिलो,दोस्रो र तेस्रो नम्बरमा पर्न सफल रहे भने ‘दाल भात तरकारी’,‘आमा’,‘सेन्टी भाइरस’,‘घर’ र ‘मारुनी’ ले आफ्नो लगानी मात्र सुरक्षित गर्न सफल भए।