खण्डग्रास सूर्यग्रहण, नेपालबाट ३ घण्टा ३३ मिनेटसम्म ग्रहण देखिने, के गर्न मिल्ने – के गर्न नमिल्ने ?

असार ०६, २०७७     मुस्कान खनाल (युवा ज्योतिष)


संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ। खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ।
सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो। ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ।
यही असार ७ गते, (जुन २१ तारिख) आषाढ कृष्ण औंशी तिथि,आइतबारका दिन नेपालबाट देखिने गरी इतिहासकै दुर्लभ खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ ।
यो ग्रहण वलय (पुरै सूर्य ढाक्ने) सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास (आधा ढाक्ने) मात्र देख्न सकिने छ। ग्रहण कङ्गो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणी भाग, भारतको देहरादुन, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँबाट वलय सूर्यग्रहण देख्न सकिने छ ।
नेपाली समय अनुसार बिहानको १० बजेर ५० मिनेटमा स्पर्श हुने र मध्यान्हको १२ बजेर ३८ मिनेटमा मध्य हुने र अपरान्ह २ बजेर २३ मा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहनेछ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुनेछ ।
उक्त ग्रहणले दुईवटा नक्षत्रलाई सन्धि बनाएर ३ घण्टा ३३ मिनेटसम्म लाग्न लागेको हुनाले यसलाई विशेष रुपमा हेरिएको छ । साथै आइतबार सूर्य ग्रहण तथा सोमबार चन्द्र ग्रहण परेको वर्ष विशेष महत्व रहने गरेको छ ।
ग्रहण सुरुभएको २ घण्टा ३५ मिनेट पछि मृगशिरा नक्षत्रलाई छोडेर आद्रा नक्षत्रमा करिब ५८ मिनेटसम्म ग्रहण रहिरहने छ ।

अहिलेको समयमा कोरोना भाइरस अर्थात कोभिड(१९ ले विश्वलाई चुनौती दिइरहेको छ ।यसै सन्दर्भमा भारतका केहि ख्याती प्राप्त खगोल वैज्ञानिक तथा ज्योतिषीहरुले कोरोनाको उत्पत्ती सुर्य ग्रहणकै प्रभाब स्वरुप भएको दाबी गरेका छन । उनिहरुले कोरोनाको उत्पत्तिलाई २६ डिसेम्बर २०१९ को सुर्य ग्रहण सँग जोडेर हेरेका छन र अर्को सूर्यग्रहण लाग्ने दिन अर्थात भोली देखि विस्तारै कोरोना को प्रभाव कम हुने दाबी गरे पनि यसपटकको खण्डग्रास सूर्यग्रहण मृगशिरा (मँगल ग्रह को नक्षत्र) मा परेको र ओट चक्रमा मङलको लाइनमा बृहस्पति, शनि र केतु ग्रह पनि भएकाले साथै ओट चक्रको गर्भ गृहमा बुध ग्रह निर्वल अबस्थामा रहेकाले आगामी भाद्र महिनासम्म त्यस्तो अवस्था देखिदैँन । साथै यस पटकको ग्रहणले मँगल ग्रहको अधिकार क्षेत्रभित्र पर्ने विषयहरुमा बढि पिडा दिनेछ । जस्तै भुमि (सिमा), अग्नि ( अग्निजन्य प्रकोप) , वायु (वायुयान दुर्घटना ) सेना पुलिस लाइ पिडा, विद्रोह , भिषण दुर्घटना, सामुहिक मृत्यु रहत्यार आत्महत्या , हृदय सम्बन्धि समस्या भएकालाइ बढि पिडा, किशोर अबस्था केटा केटि , बैँक तथा बित्तिय क्षेत्र को लागी विशेष कष्टप्रद रहने छ । साथै गर्भ गृहमा स्थित निर्वल बुध ग्रहका कारण शासक तथा बौध्दिक क्षेत्रका व्यक्ति हरुको बुद्दि भ्रष्ट भै अनिर्णयको बन्दि होलान भन्ने अनुमान गर्न सकिन्छ ।

सूर्यग्रहणमा सूतक समय तथा गर्न नहुने कार्य
यो खगोलीय परिघटनाले प्रभाव पार्ने क्षेत्रमा सूर्यबाट आउने विषमय तथा विकृत किरणहरूको वर्षाले समस्त प्राणी र विशेषगरी मानवजगतमा प्रतिकूल प्रभाव पार्ने गर्दछ। यसर्थ पूर्वीय ऋषि–महर्षिहरूले ग्रहणकाललाई अशुद्ध समयका रूपमा व्याख्या गरेका छन्। धर्मशास्त्रमा ग्रहण लागेका बेला विशेष काम, खानपान, मनोरञ्जन, खेलकुद, शयन, शृंगार, मंगलमय धार्मिक कृत्य, मूर्तिस्पर्श आदि गर्न निषेध गरिएको छ।
सूर्यग्रहण सुरु हुनुभन्दा चार प्रहर (१२ घण्टा) अघिदेखि ग्रहण सूतक लाग्दछ। धर्मशास्त्रअनुसार सूतक लागेपछि खानपान गर्न हुँदैन। ग्रहण लाग्नुभन्दा १२ घण्टा अघिदेखि अर्थात् असार ६ गते शनिबार राति १० बजेर ५० मिनेटबाट नै बालक, वृद्ध अशक्त तथा रोगीहरु बाहेकले भोजन गर्न नहुने शास्त्रनिर्देश रहेको छ।
वृद्धलगायत अशक्तहरूले पनि कम्तीमा एक प्रहर (३ घण्टा) अघिदेखि भोजन गर्न नहुने
ग्रहणका बेला सुत्नाले आयुक्षय, खानाले दुःसाध्य रोग र अधोगति र मैथुन गरे सुँगुरको जुनी प्राप्त हुन्छ भनी बताइएको छ।

निद्रया जायते व्याधि मुत्रे दारिद्र्यमाप्नुयात्।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसूकरस् ।।
अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधो गतिस् ।
बन्धने च भवेत् सर्प बधे च नरकं व्रजेत्।।

ग्रहणका बेला गर्भको शिशुलाई विशेष असर पर्ने हुँदा गर्भवती महिलाले विशेष सावधानी अपनाउनुपर्छ, यस्तो बेला ग्रहण हेर्नु हुँदैन र भरसक घरबाहिर निस्कनु हुँदैन। ग्रहण लाग्दै गर्दा बच्चा जन्मिएमा पनि अरिष्टयोग पर्ने हुँदा उचित समयमा स्वस्तिशान्ति गराउनुपर्दछ।

ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ ।
यसका साथै घरको मुख्य द्वारमा या खानेकुराको छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालाई रोक्न सहयोग गर्दछ ।
धर्मशास्त्रहरूमा बताइए अनुसार ग्रहणको समय सबै स्थानको जल गंगाजल समान पवित्र हुन्छ। दान लिने सबै पात्र पवित्र ब्राह्मणसमान सत्पात्र हुन्छन् र यसबेला गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन् भन्ने शास्त्रवचन छ। ग्रहणका बेला देवपूजा, मन्त्र–उपासना, तन्त्रसाधना जप, होम, श्राद्ध लगायतका आध्यात्मिक कार्य गर्दा लाभ हुने बताइएको छ। तन्त्र–मन्त्र सिद्धि गर्न सर्वोपयोगी समयका रूपमा ग्रहणकाललाई लिने गरिन्छ।
ग्रहण सुरु हुन लाग्दा स्नान, सुरु भएपछि हवन, मोक्ष हुने समयमा दान र मोक्षपछि वस्त्रसहित स्नान गर्नुपर्ने धर्मशास्त्रीय विधान रहेको छ।
ग्रहणकालमा गरिएको स्नान–दान विशेष पुण्यदायी हुने मानिन्छ। स्नान गर्ने जल शुद्ध हुनु आवश्यक हुन्छ। भूमिगत कुवा तथा इनारको जलभन्दा झरनाको जल, झरनाभन्दा तलाउ–पोखरी, त्यसभन्दा नदी, नदीभन्दा तीर्थको जल, त्योभन्दा पनि महानदीको जल, महानदीभन्दा गंगाजल र गंगाजलभन्दा समुद्रको जलमा स्नान गर्नु दस–दस गुणा अधिक पुण्यदायी हुने बताइएको छ।
कुनै जातकको जन्म कुण्डलीमा सूर्यग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ ।

विभिन्न राशिहरूलाई ग्रहणको प्रभाव
ग्रहणले कसैका लागि भाग्य र कसैलाई दुर्भाग्य निम्त्याउन सक्छ। आफ्नो नामराशिदेखि गन्दा ३, ६, १० र ११ औं राशिमा ग्रहण लागेको छ भने उक्त ग्रहण शुभफलदायी हुन्छ। यसबाहेक अन्य राशिमा ग्रहण लागेको भए प्रतिकूल हुन्छ। शास्त्रीय मान्यताअनुसार शुभफल मिल्ने राशिवालाहरूले मात्र ग्रहण हेर्नु शुभ हुन्छ। अन्य राशिहरूले ग्रहण हेरेमा बताइएका प्रतिकूल फलमा बढोत्तरी हुन्छ।
तर सूर्यग्रहण नाङ्गो आँखाले कदापि हेर्न हुदैन । सूर्यग्रहण हेर्दा अत्यन्त सावधानी अपनाउनुपर्दछ । ग्रहण हेर्नलाई बनाइएको विशेष चस्मा को प्रयोग गरी हेरेमा कुनै नोक्सानी हुदैन भने सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका सूर्यविम्बको प्रतिविम्ब बनाइ छाया हेर्नु नै हो ।

यसपटकको खण्डग्रास सूर्यग्रहण मृगशिरा र आर्द्रा नक्षत्र (मिथुन राशि)मा परेको हुनाले
“ग्रहणनक्षत्रं षण्मासं पूर्णग्रासे वर्ज्यम् । पादादिग्रासे सार्धमासादितारतम्येन योज्यम्” (धर्मसिन्धुस्) अनुसार ग्रहणको अवस्थाका आधारमा आउने ५ महिनासम्म मृगशिरा र आर्द्रा नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै मृगशिरा र आर्द्रा नक्षत्रमा ग्रहणको योग परेककाले विशेषगरी मृगशिरा र आर्द्रा नक्षत्रमा जन्म भएका, मिथुन राशि र मिथुन लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ ।

यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छन् ।
मेष श्री प्राप्तिहुने
वृष क्षतिहुने
मिथुन घातहुने
कर्कट खर्च बढ्ने
सिंह लाभहुने
कन्या सुखदायीहुने
तुला मानहानीहुने
बृश्चिक कष्टहुने
धनु स्त्रीपीडाहुने
मकर सुखमिल्ने
कुम्भ चिन्ताबढ्ने
मीन व्यथाबढ्ने ।

ग्रहणकाललाई अशुभ समयका रूपमा व्याख्या गरिए पनि माथि बताइएका आध्यात्मिक कार्य तथा साधना गर्नेहरूका लागि यो समय अत्यन्त लाभदायक हुन सक्छ।

लेखक दक्षिण एशियाली ज्योतिष महासंघका सदस्य हुनुहुन्छ ।