संगीतकर्मीमाथि कोरोनाको बज्रपात भविष्यको चिन्ताले आत्तिन थाले : हेमन्त शर्मा

असार ०९, २०७७


असार ९, कोरोना भाइरसको संक्रमण नभएको भए, विश्व पहिलेको जस्तै आफ्नै गतिमा दौडिरहेको भए, यतिबेला धेरै नेपाली गायक-गायिका देश र विदेशका स्टेज कार्यक्रमहरूमा दर्शकलाई नचाइरहेका हुन्थे । तर कोरोनाको कहरले अन्य क्षेत्रजस्तै संगीत क्षेत्र पनि ठप्प बनेको छ । कलाकर्मीहरू घरभित्र सुतेर दिन काटिरहेका छन् ।

हुन त कोरोनाको असर विश्वव्यापी भएकाले अन्य देशका संगीतकर्मीको हालत पनि उही हो । जस्टिन बिवर, सेलेना गोमेज, रिहानाजस्ता विश्वचर्चित गायक-गायिकाले आफ्नो स्टेज कार्यक्रम स्थगित गरेर बसेका छन् । धेरै देशहरूमा त अहिले ‘स्टेज सो’ मा रोक नै लगाइएको छ । सम्भवतः यो वर्ष गायक-गायिकाहरू स्टेजमा फर्किन सक्ने अवस्थामा छैनन् 

जागिर पाए गर्छु : हेमन्त शर्मा

स्नातकसम्मको अध्ययन गरेका गायक हेमन्त शर्मा अहिले पत्रपत्रिकामा जागिर खुलेको विज्ञापन हेरिरहेका छन् । उनले अनलाइखबरसँग भने-‘मलाई काम गर्नमा कुनै लाज छैन । अझै ६ महिना स्टेज खुलेन भने पनि धानिन सक्छु भन्ने लागेको छ । तर त्यसपछि भने टिक्न गाह्रो छ । यसैले कतै जागिर पाएँ भने काम गर्ने सोचमा छु ।’

हेमन्तले स्टेज सोका लागि सबै कुरा सामान्य हुनुपर्ने भएकाले कोरोनाका भ्याक्सिन नआएसम्म संगीत क्षेत्र पुरानो अवस्थामा फर्किन सम्भव नभएको बताए । उनले भने- ‘मसँग कुरा गर्ने धेरै कलाकार अलमलमा छन् । केही दिन लकडाउन हुँदा त शरीरले पनि सुख पाएको थियो । तर लकडाउन लम्बिदै गएपछि मानिसमा मानसिक र आर्थिक समस्या सुरु हुन थालेको छ । यसलाई बिर्सन पनि अरू काम गर्नुको विकल्प छैन ।’

हेमन्तले नेपालमै एउटा स्टेज कार्यक्रममा गीत गाउँदा ४० देखि ५० हजारसम्म बुझ्थे । विदेशी कार्यक्रमका लागि जाँदा ८० हजारदेखि एक लाख रुपैयाँसम्म लिने गर्थे । हङकङ, अस्ट्रेलियाको कार्यक्रमका लागि भिसा हातमा लिएर बसेका हेमन्तले अहिले सबै गुमाउनु परेको छ । उनले भने-‘मैले त घाँटी हेरेर नै हाड निलिरहेको थिएँ । गाडीको किस्ता, घर खर्च, आफ्नो खर्च गर्दा अब बिस्तारै खर्च धान्न गाह्रो हुने अवस्था आएको छ । परिस्थिति सहज भएन भने वैकल्पिक काम खोज्नुपर्छ ।’

हेमन्तले स्टेज कार्यक्रम सहज भएपछि ६ महिना आफूले आधा पारिश्रमिकमा काम गर्ने घोषणासमेत गरेका छन् । उनले भने- ‘एउटा स्टेज कार्यक्रममा गायक पुग्दा हुने आम्दानी धेरैतिर जोडिएको छ । उसले गीत गाएपछि नै एउटा गीत तयार गर्न सक्छ र भिडियो बनाउँछ । त्यसैले म कलासँग जोडिएका सबैलाई केही महिना आधा पारिश्रमिकमा काम गर्न आग्रह गर्दछु ।’