एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन कार्यविधि २०७७’ जारी

असार १०, २०७७


 असार १०, माध्यमिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीलाई आन्तरिक मूल्यांकनबाट नम्बर दिने बाटो खुलेको छ। राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा गठन हुने समितिले विद्यार्थीको मूल्यांकन गरी नम्बर पठाउने अधिकार दिएको हो । कोरोनाभाइरस महामारीले शैक्षिक सत्र २०७६ को एसइई परीक्षा स्थगित भएको थियो। जेठ २८ को मन्त्रिपरिषद बैठकले विद्यार्थीको आन्तरिक मूल्यांकनबाटै एसइईको परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। 

गत वर्ष एसइईका लागि चार लाख ८२ हजार दुई सय १९ विद्यार्थीले आवेदन दिएका थिए। आन्तरिक मूल्यांकनका लागि परीक्षा बोर्डले मंगलबार ‘माध्यमिक शिक्षा परीक्षा एसइईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ जारी गरेको छ। उक्त कार्यविधिले विद्यार्थीको आन्तरिक मूल्यांकन कसरी गर्ने भन्नेबारे प्रष्ट खुलाएको छ। ग्रेटवृद्धि वा खुलातर्फबाट एसईई दिने विद्यार्थीका सन्दर्भमा पनि कार्यविधिमा व्यवस्था छ। कार्यविधिअनुसार सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा विद्यार्थीले नम्बर पाउनेछन्।

विद्यार्थीको मूल्यांकनका लागि प्रध्यानाध्यापकको अध्यक्षतामा दुई सदस्यीय समिति गठन गरिनेछ । प्रधानाध्यापक अध्यक्ष रहने मूल्यांकन समितिमा कक्षा शिक्षक र सम्बन्धित माध्यमिक तहका शिक्षकमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहनेछन्,’ कार्यविधिमा भनिएको छ। प्रअको अध्यक्षतामा रहेको समितिले कसरी विद्यार्थीको आन्तरिक मूल्यांकन गर्छ त? यसबारे कार्यविधिले सैद्धान्तिक र प्रयोगात्मक दुई तरिकालाई आधार मानेको छ।

‘विद्यालयले लिएका परीक्षामध्ये अधिकतम् पाठ्यक्रम समावेश हुने गरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णाङ्कअन्तर्गत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने,’ कार्यविधिमा भनिएको छ। प्रयोगात्मक मूल्यांकनबारे विद्यार्थीहरूको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयले यसअगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समान्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनु पर्नेछ।

परीक्षा फारम भरेका, परीक्षा दस्तुर बुझाएका र पाठ्यक्रमले तोकेबमोजिम न्यूनतम ७५ प्रतिशत हाजिरी भएका विद्यार्थीको मात्र आन्तरिक मूल्यांकनवापत् अंक पठाउनु पर्ने कार्यविधिले तय गरेको छ। गेटवृद्धि परीक्षाका लागि फारम भरेका विद्यार्थीका हकमा के हुन्छ? यसबारे कार्यविधिले भनेको छ- नियमित, आंशिक र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन परीक्षा आवेदन फारम भरेका विद्यार्थीको अलग-अलग समष्टित प्राप्ताङ्क विवरण तयार गर्नुपर्नेछ।

‘ग्रेडवृद्धि परीक्षार्थीलाई आवेदन फारम भरेका विषयको मात्र सैद्धान्तिक तथा प्रयोगात्मक प्राप्ताङ्क भरी पठाउनु पर्नेछ,’ कार्यविधिले प्रअ अध्यक्ष रहेको समितिलाई प्रष्ट अधिकार दिएको छ। खुला विद्यालयमा अध्ययनरत विद्यार्थीको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिम प्रक्रिया अवलम्बन गर्न सक्ने कार्यविधिमा उल्लेख छ।

प्रअले विद्यार्थीलाई दिएको नम्बर जिल्लास्थित शिक्षाका विकास तथा समन्वय इकाइमा पठाउनु पर्नेछ। इकाइले आवश्यक रूजु गरी राष्ट्रिय परीक्षा बोर्डमा नम्बर पठाउनु पर्छ। बोर्डकाअनुसार यस वर्ष ग्रेडवृद्धि परीक्षा हुने छैन। ‘पूरक ग्रेडवृद्धि परीक्षासम्बन्धी कार्य यो वर्ष हुने छैन,’ कार्यविधिमा प्रष्ट भनिएको छ।