नागरिक कि अनागरिक ?

साउन १४, २०७७     थम्मन 'निर्दोषी' बस्नेत



राहत बाड्न सामल थिएन
भाषण छाट्न नेता भएन
झुट किन बोल्नु र
यसो सोच्नु मात्र पनि पाप हो
भन्ने बुझेको मान्छे म
समाचार सुने, पढे मनकारी मनहरुको
कसैले भाडा छोडे रे
कसैले गाँस,बाँस, कपास दिए रे

तर
मैले दिएको समाचार बनेन
हुन त यो घाटाको समाचार कस्ले बनाउछ?
न समाचार म बन्न लायक छ
न म समाचार बन्न लायक छु
न म समाचारलाई नै केही दिन सक्द्छु?
अनि किन बन्छ मेरो समाचार
म राष्ट्रियता गुमाएको मान्छे
म सङ्ग एउटा नागरिकता त छ
तर कुनै पार्टीको परिचयपत्र छैन
नागरिकता हुदैमा
राष्ट्रियता हुन्छ भन्ने कहाँ छ र?
यदि नागरिकताले राष्ट्रियता हुने भए
कहाँ छ मेरो राज्य?
कहाँ छ मेरो राज्यकोष?
तिम्रो संकटमा म जिम्मेवार नागरिक
मेरो संकटमा म स्वत: अनागरिक
बुझ्नु भो मेरो भुमिका
म नागरिक कि अनागरिक?

तर
मलाई हुँदै नभएको त नभन्नुस न
केही नभएको त होइन क्यारे
छ नि म सङ्ग पनि
संकटमा कतै नचल्ने चेक छ
मर्मलाई मथ्थर गर्न नसक्ने सपना छ
अभावलाई छेक्न नसक्ने द्वार छ
लाजलाई छोप्न नसक्ने नजर छ
स्वाभिमान बोकेर हिड्ने छाती छ
तर पनि
वास्तविक पीडितलाई राहत दिन सकेन त के भो
म भन्दा धनी मानीलाई त दिएकै छु
मालिक भनाउदालाई दिएकै छु
कसै सङ्ग मैले स्वाभिमान बेचेर
आज सम्म केहि मागेको छैन
मैले कहिल्यै मागेको छैन
सत्य बोलु भने
आफ्नो पसिना बराबरको मोल पनि
मागेको छैन
बरु
हरेक दिन पसिनाका दुई चार थोपा
उनैलाई छोडेको छु
छोराछोरीको स्वास्थ, शिक्षा  किन्ने पैसामा
श्रीमतीको फरिया चोलो फेर्ने पैसामा
बुवा आमाको हासो किन्ने पैसामा
पसिनाको न्युनतम एक प्रतिशत
काटेर भए पनि
पसिनाको राहत दिएको सम्झेको थिए
तर
यसरी प्रत्येक दिन पसिना छोड्नेहरु
न त मनकारी न त दानवीर हुदारहेछ्न
हुदा रहेछन त केवल कहिल्यै समाचार नबन्ने
पसिना बिनाको जिवन नचाहने
आफ्नो पसिनाले अरुलाई सिचाएर
लालसा अनि फगत अपेक्षालाई
तिरस्कार गर्ने
एक स्वावलम्वी कर्मविरहरु पनि
अनागरिक हुदारहेछ्न