माओवादी केन्द्र खारेजी माग गरिएको निवेदन निर्वाचन आयोगमा

असार २३, २०७८


असार २३, एमालेका केही नेताले आफ्जने पूर्वपार्टी माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । आज बुधबार आयोगको कार्यालयमै पुगेर माओवादी केन्द्रका पूर्वनेता लीलबहादुर थापासहितले माओवादी केन्द्र अवैधानिक भएको भन्दै खारेजीको माग गर्दै निवेदन दिएका हुन् ।

माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, लेखराज भट्ट, लीलाबहादुर थापा, रामचन्द्र मण्डल, दधिराम न्यौपानेलगायत माओवादी केन्द्र खारेजीको माग गरेका हुन् । निर्वाचन आयोग स्रोतले नेताहरु निवेदन लिएर आएको जानकारी दिएको छ । माओवादी केन्द्र अवैधानिक, असंवैधानिक रहेको दाबी उनीहरूले गरे । त्यसैले सो पार्टीको खारेजीका लागि आफूहरूले निवेदन दिन लागेका उनीहरूको भनाइ थियो ।

नौ वर्ष बित्न लाग्दा पनि महाधिवेशन नगरेको र पार्टी एकता गरिसकेपछि आयोगमा दर्ता पनि नगरेकाले माओवादी केन्द्र अवैधानिक पार्टी भएको जिकिर उनीहरूले गरे । अवैधानिक पार्टीले आफूहरूमाथि गरेको कारबाही पनि अवैधानिक भएको उनीहरूले बताए । एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले ती नेताहरूलाई सांसद पदबाट मुक्त गराउनुका साथै पार्टीबाट निष्कासनसमेत गरेको थियो । प्रतिनिधिसभा पुनःस्थापना भए आफूहरूलाई सांसद पदबाट हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालत पनि जाने पनि ती नेताहरूले बताएका छन् ।