कर्णालीमा एमालेका ३ मन्त्रीको राजीनामा माग्दै बैठक अवरुद्ध, बजेट पारित नहुने डर

असार २४, २०७८


नेकपा एमालेले कर्णाली प्रदेशसभाको बैठक बारम्बार अवरुद्ध पार्न थालेपछि बजेट पारित हुनेमा अन्योलता थपिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले १ असारमा कर्णाली प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गरेका थिए । प्रदेशसभामा बजेट पेश भएपछि नेकपा एमालेले बैठक बारम्बार अवरुद्ध गर्दै आएको छ ।

फ्लोर क्रस गरेर मन्त्री बनेका आफ्ना सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको राजीनामा माग गर्दै एमालेले संसद अवरुद्ध पार्दै आएको हो । एमालेले लगातार कर्णाली प्रदेशसभाको आठौं अधिवशनका १५ वटा बैठक अवरुद्ध पारेको हो । बिहीबार दिउँसो २ बजे बसेको बैठक पनि एमालेले अवरुद्ध पारेको छ ।

कर्णाली प्रदेश सरकारमा बहुमतमा नरहेको, अल्पमतमा रहेको सरकारले बहुमतमाथि शासन गर्न नपाइने भन्दै एमाले सांसद दल रावलले संसद् अधिवेशन चल्न नदिने बताए । एमालेका २० जना सांसद रहेका छन्’ उनले भने, २० जनालाई १८ जना रहेका माओवादी र कांग्रेसले शासन गर्न पाइँदैन । आजको बैठक एमालेले अवरुद्ध पारेपछि सभामुख राजबहादुर शाहीले अर्को बैठक २७ असार दिउँसो २ बजेका लागि बोलाएका छन् ।