सञ्चार विधेयक पुनर्लेखन गर्न माग गर्दै शान्ति समाजको प्रदर्शन

असार २४, २०७८


असार २४, लुम्बिनी प्रदेश सरकारले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने किसिमको सञ्चार विधेयक संसदमा दर्ता गरिसकेको छ। उक्त विधेयक पुनर्लेखन गर्नुपर्ने माग चौतर्फी रूपमा उठेको छ । यसैबीच उक्त विधेयकविरुद्ध मानव अधिकार तथा शान्ति समाजले बुटवलमा प्रदर्शन गरेको छ ।

सञ्चार विधेयक प्रेस स्वतन्त्रता र मानव अधिकार विरोधी रहेको ठहर सो समाजले गरेको छ । समाजका सभापति गोबिन्द खनालको नेतृत्वमा आज बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअगाडि विभिन्न नारा लेखिएका प्लेकार्डसहित विरोध प्रदर्शन गरिएको छ ।

सो अवसरमा सभापति खनालले लुम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक संविधानको प्रस्तावना र मानव अधिकारको विश्वव्यापी घोषणापत्रविपती रहेकाले फिर्ता गरी पुनर्लेखन गर्नुपर्नेमा जोड दिए । नागरिकको मुख थुनेर राज्यलाई निरंकुशतातर्फ धकेल्ने सरकारको नियत देखिएको उनले बताए ।

संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्धता र इमान्दार हुनुपर्नेमा त्यसविपरीत सरकार अघि बढिरहेको उनको भनाइ थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले स्वतन्त्र प्रेसमाथि अंकुश लगाएर सरकार पञ्चायतकालीन अञ्चलाधीशको शासनको पुनरावृत्ति गर्न खोजिरहेको आरोप लगाए ।

उक्त विधेयक फिर्ता नभए पत्रकार महासंघले सशक्त आन्दोलन गर्ने चेतावनी उनले दिए ।