क्रियाशील सदस्यता छानबिन समिति सदस्यहरूसँग पौडेल पक्षको छलफल

असार २४, २०७८


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूसँग छलफल गरेका छन् । काठमाडौंको बत्तिसपुतलीमा नेता पौडेल सहित महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य रामशरण महत र अर्जुन नरसिंह केसी लगायतले केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरू प्रदीप पौडेल, कल्याण गुरूङ लगायत सँग छलफल गरेका हुन् ।

महामन्त्री कोइरालाका स्वकीय सचिव भरत तिवारीले छलफल भर्खरै सुरू भएको सेतोपाटीलाई बताए । बिहीबार दिउँसो भएको उक्त छलफलमा क्रियाशील सदस्यता वितरणमा भएका अनियमितताबारे कुराकानी भइरहेको छ । अन्य पार्टी छाडेर कांग्रेसमा आएकाहरू लाई प्रक्रिया नपुर्‍याई क्रियाशील सदस्यता दिन खोजेकोमा पौडेल पक्षले विरोध गरिरहेको छ ।

कांग्रेसमा वडादेखि चार तहबाट सिफारिस भई आएकाहरूलाई क्रियाशील सदस्यता दिने गरिन्छ । चार तह पार नगरी सिधै क्रियाशील दिन नहुनेमा पौडेल पक्ष छ । कांग्रेसमा ९ लाखभन्दा बढी क्रियाशील सदस्य पुगेका छन् भने पाँच हजार उजुरी परेकोमा अधिकांश उजुरी छानबिन भइसकेका छन् । कांग्रेसले साउन १२ मा वडा अधिवेशन गर्दैछ । भदौ १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन तोकिएको छ ।