एमालेमा गएका नेताहरू माओवादी केन्द्र खारेजको निवेदनबारे बुझ्न निर्वाचन आयोगमा

असार २५, २०७८


असार २५, माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आफूहरुले माआवादी केन्द्र खारेजीको माग गर्दै दर्ता गराएको निवेदनबारे जानकारी लिन र छलफल गर्न उनीहरू निर्वाचन आयोग पुगेका हुन् ।

पूर्वमाओवादी केन्द्रका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह र गौरिशंकर चौधरी आयोग पुगिसकेका छन् भने रामबहादुर थापा ‘बादल’ आइपुग्न बाँकी छ । बादल आइपुग्नेबित्तिकै छलफल थालिने जनाइएको छ । माओवादी केन्द्रले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजी गर्नुपर्ने मागसहित उनीहरूले निवेदन दिएका थिए ।

संविधानतः सो पार्टीले दलीय हैसियत कायम हुन नसक्ने दाबी उनीहरूले गर्दै आएका छन् । आफूहरूले दर्ता गराएको निवेदनउपर आयोगले केकसरी कारबाही गरिरहेको छ भनी जानकारी लिन र पदाधिकारीहरूसँग त्यसबारे छलफल गर्न आफूहरू आयोग आएको एक नेताले बताए ।