सुदूरपश्चिम प्रदेशका १३ एमाले सांसद एकीकृत समाजवादीमा

भदौ १५, २०७८


सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसद मध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् । प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्री सहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा रहने गरी निर्वाचन आयोगको कार्यालयमा सनाखत गराउन लागेका हुन् ।

आजै निर्वाचन कार्यालयमा गएर सनाखत गराउने तयारी भइरहेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारीले रातोपाटीलाई जानकारी दिए । सनाखतका लागि निर्वाचन आयोगले २२ गते सम्मको समय दिएको भए पनि हामी आजै सनाखत गर्ने तयारीमा छौैँ, उनले भने । प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले पनि आज सनाखतका लागि प्रदेशसभा सदस्यहरु आउने जानकारी प्राप्त भएको बताए ।

नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा दिर्घ सोडारी, पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, तारा लामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्टले निर्वाचन कार्यालयमा सनाखत गराउन लागेका हुन् ।