वर्ष २०७८ : यी सेलिब्रेटी जसले कसे लगनगाँठो

बैशाख ०२, २०७९


वर्ष २०७८ मा सेलिब्रेटीका काम, प्रेमसम्बन्ध, विवाद र विवाह चर्चाको बिषय नै बनिरह्यो । गायक, गायिका, अभिनेत्री देखि हास्य कलाकार सम्मले यो बर्ष लगनगाँठो कस्न सफल भए । कोरोना कहरले सबैजसोको विवाहमा खासै तामझाम भने भएन । कतिपयको भने विवाहको हल्ला मात्र चल्यो । यी हुन् यो बर्ष विवाह र इन्गेजमेन्ट गर्ने सेलिब्रेटी ।

मनोज गजुरेल, हास्य कलाकार : चर्चित हास्यकलाकार मनोज गजुरेलले गत असोजमा वैवाहिक जीवनमा बाँधिए । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्वीर राख्दै उनले विवाह सार्वजनिक गरेका थिए । मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका थिए । मनोजले मञ्जुसँग दोस्रो घरजम गरेका हुन् । उनको पहिलो विवाहको ४ वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो ।

रेखा थापा, अभिनेत्री : अभिनेत्री रेखा थापाले यसै बर्ष विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग कोर्ट म्यारिज गरिन् । कोर्ट म्यारिज गरेको केही सातापछि गत फागुनमा उनको विवाह सार्वजनिक भएका थियो । रेखाको यो दोस्रो विवाह हो । यसअघि निर्माता छविराज ओझासँग उनले विवाह गरेकी थिइन् । छवि सँगको वैवाहिक जीवन १० वर्षअघि सम्बन्धविच्छेदमा टुंगिएको थियो । फिल्म ‘हिरो’ बाट अभिनयमा डेब्यु गरेकी रेखाले एक दशकसम्म चलचित्र क्षेत्रमा राज गरिन् । पछिल्लो समय राजनीतिमा बढी सक्रिय उनको फिल्म क्षेत्रमा निर्माता, निर्देशक र अभिनेत्रीको परिचय बनेको छ ।

यम बराल, गायक : लोकप्रिय गायक यम बरालको दोस्रो बिहे गत पुस महिनामा सार्वजनिक भएको थियो । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका थिए । बरालले गीतालाई काठमाडौंमा किनेको नयाँ घरमा भित्र्याएका थिए । गीता नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । गायक बरालको पहिलो विवाह आकृति राणासँग भएको थियो । राणासँग उनले सन् २०११ मा सम्बन्ध विच्छेद गरेका थिए ।

दिनेश काफ्ले, हास्य कलाकार : हास्य कलाकार दिनेश काफ्लेले पनि गत असोजमा घरजम गरे । उनले सिन्धुली घर भएकी नर्बदा थापासँग लगनगाँठो कसेका हुन् । दिनेशले नर्बदासँग मागी विवाह गरेका थिए । उनीहरुको विवाह समारोह सिन्धुलीको सुनकोसी गाउँपालिका–४ मा आयोजना भएको थियो । दिनेश लामो समयदेखि कमेडी कलाकारको रुपमा सक्रिय छन् ।

प्रिया भण्डारी, गायिका : बद्री पंगेनीसँग ‘सैं पनि एमाले, मै पनि एमाले’ बोलको गीतमा स्वर दिएर चर्चामा आएकी गायिका प्रिया भण्डारी गत मंसिरमा दाम्पत्य जीवनमा प्रवेश गरिन् । गायिका भण्डारीले अमेरिका बस्ने प्रभात अधिकारीसँग १२ मंसिरमा बुटवलमा लगनगाँठो कसेकी थिइन् । प्रभात पाल्पाका युवक हुन् ।

प्रविशा अधिकारी, गायिका : पछिल्लो समयकी चर्चित गायिका प्रविशा अधिकारी पनि गत मंसिरमा विवाह बन्धनमा बाँधिइन् । उनले निर्माण सिटौलासँग लगनगाँठो कसेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेमा आयोजना गरिएको थियो । निर्माणसँग प्रविशाले मागी विवाह गरेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । प्रविशा चलचित्र र आधुनिक गरेर थुप्रै गीतमा स्वर दिएकी छन् । उनी यस वर्षको रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जजको रुपमा रहेकी छन् ।

सुदर्शन थापा, निर्देशक तथा अभिनेता : निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल सुप्रिया कटुवाल पनि यसै बर्ष वैवाहिक जीवनमा बाँधिए । उनीहरुले बालुवाटारको एक होटलमा वैवाहिक समारोह रचाएका थिए । सुप्रियासँग एक वर्ष लामो प्रेम सम्बन्ध उनले विवाहमा परिणत गरेका थिए । सुप्रिया मोडलिङ हुँदै पछिल्लो समय टेलिभिजनमा समाचार बाचिकाको रुपमा कार्यरत छिन् भने सुदर्शन फिल्म निर्देशनमा सक्रिय छन् ।

सुपुष्पा भट्ट, अभिनेत्री : अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरिन् । उनले राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा रौनकसँग लगनगाँठो कसिन् । कोरोना महामारीका बीच उनीहरुले गत बैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए । रौनकले ‘कबड्डी र मिस्टर झोले’ फिल्मको निर्माण गरेका छन् । फिल्म ‘रणवीर’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुपुष्पाले ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’ मा अभिनय गरेकी छन् ।

सन्ध्या केसी, अभिनेत्री : अभिनेत्री सन्ध्या केसीले विवाह गरेकी छन् । उनले आफूले आभूषण ज्योति कंसाकारसँग असारमा कानुनी बिहे गरेको सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी थिइन् । फिल्म ‘ड्रिम्स’बाट अभिनयमा प्रवेश गरेकी उनी पछिल्लो समय ‘पण्डित बाजेको लौरो’ फिल्ममा देखिएकी थिइन् ।

रश्मी तामाङ, मोडल : चर्चित मोडल रश्मी तामाङले पनि गत बैशाखमा विवाह गरेकी हुन् । गोर्खाको अनिल राना मगरसँग सुटुक्क बिवाह गरेर उनी अमेरिका उडेकी थिइन् । त्यसपछि मात्र उनले सामाजिक संजाल मार्फत विवाह सार्वजनिक गरिन् । लोक तथा आधुनिक गीतका म्युजिक भिडियोको लोकप्रिय मोडल रश्मीले ६ सय बढी गीतमा मोडलिङ गरेकी छन् ।

विवाहको चर्चा
केही सेलिब्रेटीको भने विवाहको चर्चा हल्लामा सीमित रह्यो । केहीले इन्गेजमेन्ट गरिसकेको त कोही लिभिङ टुगेदरमा बसिरहेका छन् ।

ईन्दिरा जोशी, गायिका : गायिका ईन्दिरा जोशीले पनि यसै वर्ष प्रेमी सार्वजनिक गरिन् । प्रेमी शरद केडियाले हेलिकोप्टरमा खुम्बु पुगेर उनलाई फिल्मी शैलीमा औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका थिए । ईन्दिराले विवाहको प्रस्ताव स्वीकार गरेको बताएकी छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रेमीसँगको आफ्ना तीनवटा फोटो पोस्ट गर्दै यसबारे जानकारी दिएकी थिइन् । विवाह छिट्टै गर्ने बताइएपनि अहिलेसम्म भएको छैन । इन्दिराका प्रेमी शरद केडिया फेसन डिजाइनर हुन् ।

सृष्टि श्रेष्ठ, अभिनेत्री : पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र अभिनेता सौगात मल्लबीच पनि यसै बर्ष विवाह हुने चर्चा थियो । सृष्टि र सौगात दुबैले आफूहरु छिट्टै विवाह गर्ने बताउँदै लिभिङ टुगेदरमा रहेको समेत जानकारी दिएका थिए । उनीहरूले २०७९ मा विवाह गर्ने मिति सारेका छन् ।