सिनियर खेलाडीले जिम्मेवारी लिन नमान्दा उदाएका रोहित

जेठ ०७, २०७९


राष्ट्रिय महिला तथा पुरुष टोलीको उपकप्तान क्यानले नियुक्त गरेको छ । एक साताभित्र क्यानले दुई नयाँ अनुहार ल्याएको हो । महिला टोलीको उपकप्तानका लागि इन्दु बर्मालाई मैदान उतार्‍यो भने पुरुष टोलीको उपकप्तानका लागि रोहित कुमार पौड्यललाई ल्यायो ।

रोहितलाई छनोट समितिको सिफारिसबाट क्यानले नियुक्त गरेको हो । क्यानले रोहितको सिफारिस आएको पाँच दिनसम्म छनोट समिति र मुख्य प्रशिक्षकसँग छलफल गरेर अन्तिम निर्णय गरेको हो ।

रोहितको लिडरसिपलाई सबै खेलाडी तथा प्रशिक्षकहरूले सहमति जनाए । अनि त्यसपछि क्यानको छनोट समितिले रोहितलाई नयाँ कप्तानको जिम्मेवारी दिने निर्णय गर्‍यो ।

बिहीबार क्यानले रोहितलाई उपकप्तान नियुक्त गरेसँगै टिममा सिनियर खेलाडी हुँदा हुँदै पनि उनलाई कप्तानको जिम्मेवारी दिएकोमा क्यानको आलोचना गरे । तर, यो आलोचनाको भित्री रूप भने फरक छ । क्यानको खेलाडी छनोट समितिले केही सिनियर खेलाडीहरूलाई उपकप्तानका लागि बाटो खुला गरेको थियो ।

छनोट समितिले उपकप्तानको जिम्मेवारीका लागि दीपेन्द्र सिंह ऐरी र करण केसीलाई जिम्मेवारीका लागि सोधेको थियो । तर, दुवै खेलाडीले जिम्मेवारी लिन नमानेको क्यानका एक उच्च धिकारीले बताए । जिम्मेवारी लिन कसैले नस्वीकार्दा नयाँ अनुहारको खोजी भयो । नेपाली यु–१९ पुरुष क्रिकेट टोलीको कप्तानी गरेका रोहित पहिलो नम्बरमा सिफारिस भए । रोहितलाई उपकप्तानको जिम्मेवारी दिनको लागि सबै खेलाडी, कप्तान र प्रशिक्षकको सहमति आवश्यक थियो । सबैले रोहितलाई नयाँ लिडरको रूपमा स्वीकार गरे ।

नेपाल क्रिकेट संघ ९क्यान०का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले छनोट समितिले सिफारिस गरेर नै नयाँ उपकप्तान नियुक्त गरेको बताए । उनले छनोट भएर रोहित र इन्दु बर्मा आउँदा आफूहरूले छनोट समितिलाई सबैको सहमति भएको–नभएको विषयमा छलफल गरेर मात्र निर्णयमा पुगेको बताए ।

‘छनोट समितिले नै सिफारिस गरेको खेलाडीलाई नै हामीले उपकप्तानको रूपमा नियुक्त गरेको हो । रोहितको हकमा पाँच दिन लामो समय लगाएर हामीले निर्णय गरेका थियौँ । छनोट समितिलाई सोध्दा सबै खेलाडी र प्रशिक्षकको सहमति छ भनेपछि अन्तिम निर्णयमा पुगेका हौँ,’ मल्लले रातोपाटीसँगको कुराकानीमा भने ।

क्यानले खेलाडीसँग भएको विवादका कारण नयाँ कप्तान नियुक्त गरेको भन्दै सबै तिर आलोचना भएको थियो । महिला टोलीमा पनि सीता राना मगरलाई उपकप्तानको जिम्मेवारीबाट हटाएको विषयमा चौतर्फी आलोचना भयो ।