‘कबड्डी ४’ को टिकट बुकिङ आक्रामक, तोड्ला ‘छक्का पञ्जा’ को रेकर्ड ?

जेठ ११, २०७९


यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको मल्टीस्टारर फिल्म ‘कबड्डी ४’ ले बक्सअफिसमा आक्रामक इनिसियल व्यापार गर्ने देखिएको छ । सोमवारबाट मल्टीप्लेक्सहरुमा खोलिएको एड्भान्स बुकिङमा फिल्मको टिकट आँधी झैं विक्री भइरहेको छ । टिकट विक्रीको अनुपात हेर्दा रिलिजको अघिल्लो दिनसम्म काठमाडौंका मल्टीप्लेक्सहरुमा फिल्मको टिकट अभाव हुने देखिन्छ ।

नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई प्रदर्शनको पहिलो दिनका लागि आफ्नो ११ वटा स्टेशनमा कूल ९४ शो उपलब्ध गराएको छ । यो नेपाली फिल्मले आजसम्म पाएको शोमध्ये सर्वाधिक हो । साउथ फिल्म ‘केजीएफ २’ले पनि यति ठूलो शो पाएको थिएन । क्यूएफएक्सले ‘कबड्डी ४’ लाई बाँडेको शोमध्ये प्राय निलाम्बे छन् भने केही सोल्डआउटको मुखमा छन् ।

त्यस्तै, बिग मुभिज र रञ्जना सिनेप्लेक्सले फिल्मलाई समान १५\१५ शो, कीर्तिपुर सिनेप्लेक्सले ४ शो, बानेश्वर र कालिमाटी गरी वान् सिनेमाज्ले २४ शो, क्यूज सिनेमाज्ले ११ शो, एफक्यूबले १३ शो, आइएनआई सिनेमाज्ले काठमाडौं र बुटबल १६ शो बाँडेका छन् । मल्टीप्लेक्सहरुमा पाएको शो र आक्रामक अग्रिम बुकिङ हेर्दा फिल्मले पहिलो दिन डेढ करोड कमाउने आँकलन गरिएको छ ।

वितरक मनोज राठीले पहिलो विकेन्डमा फिल्मले ६ करोड कमाउने दाबी गरेका छन् । एड्भान्स बुकिङबाटै फिल्मले पहिलो दिन १ करोड ग्रस कमाउने देखिन्छ । माउथ पब्लिसिटी बलियो भएको खण्डमा ‘कबड्डी ४’ ले ‘छक्का पञ्जा’ सिरिजको लाइफटाइम कलेक्सन रेकर्डलाई तोड्न सक्ने विश्लेषण गरिएको छ । फिल्मले प्रदर्शन अगावै ओभरसिज राइट्सबाट लगानी उठाइसकेको छ ।

‘कबड्डी’को अन्तिम सिरिज भनिएकाले पनि फिल्मप्रति दर्शकको ठूलो क्रेज देखिएको छ । रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।