पूजा र आकाशको ‘सम्झना विर्सना’असार ३१ मा रिलिज हुने

जेठ २१, २०७९


काठमाडौ ,२१ जेठ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनलाई मुख्य कारण देखाउदै गत जेठ ६ को प्रदर्शन मिति स्थगन गरेको चलचित्र ‘सम्झना विर्सना’ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ। आकाश श्रेष्ठ र पूजा शर्मा स्टारर चलचित्रले आगामी असार ३१ गतेलाई आफ्नो नयाँ रिलिज डेट घोषणा गरेको छ।

चलचित्रको रिलिज डेट फाइनल भएसंगै अब प्रचारप्रसारलाई नयाँ ढंगले व्यापक बनाउदै लैजाने निर्माता आदित्य प्रधानले जानकारी गराएका छन्। ‘सम्झना विर्सना’ लाई निमेष प्रधानले निर्देशन गरेका छन् । चलचित्रलाई आदित्य र रेविका प्रधानले मिलेर निर्माण गरेका हुन् ।

चलचित्रमा पूजा र आकाशका अलवा सुनील थापा,छुल्ठिम गुरुङ,शिसिर राणालगायतका कलाकारले अभिनय गरेका छन् । दार्जिलिङ,सिल्गुडी तथा सिक्कीमका बिभिन्न रमणीय स्थानमा खिचिएको चलचित्रको कथा र पटकथा निर्देशक निमेषकै हो भने सम्वाद लेखनमा उनलाई शिशिर राणाले सघाएका छन् ।

आदित्य फिल्म्स् को प्रस्तुति रहेको ‘सम्झना विर्सना’ शिव ढकालले खिचेका हुन भने सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका छन् । यो चलचित्रलाई आरआर फिल्मस् ले प्रदर्शनको अधिकार लिएको छ ।