फिल्म ‘बगान’ निर्माणको घोषणा, निर्देशनमा डेब्यु गर्दै सरोज

जेठ २२, २०७९


अभिनेता सरोज खनाल पनि फिल्म निर्देशनमा देखिने भएका छन् । ‘बगान’ नामक फिल्मबाट उनी निर्देशनमा डेब्यू गर्न लागेका हुन् । आइतवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरियो ।

फिल्ममा रहने एक गीत ‘तिम्रो सुन्दर आँखा’ समेत कार्यक्रममा सार्वजनिक गरिएको थियो । जसमा सुरेश वाग्लेको शब्द, सुभाष भुसालको संगीत र सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर छ । रोमान्टिक थिममा तयार गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रमिला कार्कीको अभिनय छ ।

फिल्ममा सरोज खनाल आफै पनि मुख्य कलाकारको रुपमा रहनेछन् । उनको अलवा नीर शाह, वसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीको फिल्ममा अभिनय रहनेछ । गीतलाई फिल्ममा कथा वाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालले बताए । ‘मैले अहिलेसम्म अभिनयबाट सिकेको र जानेको ज्ञान र अनुभव यो फिल्म निर्देशनमा प्रयोग गर्छु’ निर्देशक खनालले भने ।