प्रदीप भन्छन्– ‘प्रकाश’ संघर्षको एउटा नतिजा हो

जेठ २३, २०७९


अभिनेता प्रदीप खड्काले फिल्म ‘प्रकाश’ आफ्नो संघर्षको एउटा नतिजा भएको बताउँदै आफ्ना लागि विषेश भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै मिहिनेत र कलाप्रतिको इमानदारितामा विश्वास राख्दै आफुले फिल्म ‘प्रकाश’ अभिनय गरेको भनाई राखेका छन् ।

‘प्रकाश’ मा काम गर्ने क्रममा, कला र कलाकारिता प्रतिको हेर्ने मेरो दृष्टिकोणमा नै परिवर्तन आएको छ । एउटा पात्र मार्फत सम्पूर्ण कथा नै जीवन्त भइदिनसक्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै, पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहरु समेतलाई बुझ्ने हेतुले, मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि फिल्मको कार्यशालामा कैयौँ दिनहरू बिताएको छु’ उनले अगाडि लेखेका छन्, ‘एउटा कलाकारले पात्र र कलाकारितालाई कसरी लिनु पर्दछ भन्ने मेरो सोचमा नै नयाँ आयाम थपिएको मैले महसुस गरेको छु ।’

दर्शकहरुको माया नै कलाकारको ठूलो कमाई भएको बताएका उनले फिल्मको ‘फस्ट लुक’ र ‘टिजर’ प्रति दर्शकले ब्यक्त गरेको सकारात्मक प्रतिक्रियाले आफ्नो मेहनत खेर नजाने कुरामा आशावादी रहेको बताए ‘यहाँहरुको माया र साथ, चलचित्र प्रदर्शन पश्चात पनि निरन्तर रहिरहने छ भन्ने कुरामा हामी पूर्ण रुपमा विश्वस्त छौ’ उनले थपे ।

फिल्म ‘प्रेमगीत’ बाट स्टारको रुपमा उदाएका प्रदीप लभर ब्वाईको रुपमा फिल्ममा रुचाइएका अभिनेता हुन् । ‘प्रेम गीत २’, ‘रोज’, ‘लिलिबिली’, ‘लभ स्टेशन’ जस्ता फिल्ममा रोमान्टिक भूमिकामा प्रस्तुत भएका उनलाई दर्शकले सुकिला चरित्रमै हेर्न रुचाउँछन् । करिअरको उचाईंमा आफ्ना प्रशंसकको चाहना विपरित उनले ‘प्रकाश’ मा काम गरेका छन् ।

दिनेश राउत निर्देशित तथा महेन्द्र अधिकारी निर्मित फिल्ममा प्रदीपका अलावा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।
विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायाङ्कन, जिवन थापाको सम्पादन, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत फिल्ममा छ ।