अनुप र मेनुकालाई केन्द्रमा राखेर ‘पानीफोटो’को ट्रेलर सार्वजनिक

असार २८, २०७९


काठमाडौं । खगेन्द्र लामिछानेको डेब्यु निर्देशित फिल्म ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्देशक लामिछानेको जन्म दिनलाई अवसर पारेर  फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मले दशक लामो सशस्त्र द्वन्द्वमा बेपत्ता छोरा खोज्ने यात्रामा निस्किएको दम्पतीको कथा पेश गर्छ । झण्डै तीन मिनेट लामो ट्रेलरमा अनुप बराल, मेनुका प्रधान, मलिका महत र खगेन्द्र स्वयं फिचर्ड छन् ।

मञ्जुश्री प्रोडक्सनको निर्माण रहेको फिल्मको कथा खगेन्द्रकै रहेकोे छ। दीपक बज्राचार्यले खिचेका फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै निर्देशक लामिछानेले सशस्त्र द्वन्द्वको कथामाथि अहिले पनि कथा भन्नु जरुरी रहेको भन्दै यसले सशस्त्र द्वन्द्वको औचित्यलाई प्रश्न गर्ने बताए ।

साउन १३ गते रिलिज हुने फिल्ममा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय छ । सोमबारदेखि उनी ४४ वर्ष पनि टेकेका छन् ।