रेखा भएको फिल्म खेल्दिनँ भनेको हो : निखिल उप्रेती

असार ३०, २०७९


एक समय पर्दामा जमेको जोडी हो, निखिल उप्रेती र रेखा थापा, उनीहरुले धड्कन, दोबाटो, कर्मयोद्धा, ए पण्डित बाजे, बरमाला, पाले दाई लगायत दुई दर्जन बढी फिल्ममा एकसाथ अभिनय गरेका छन् । निखिल र रेखा भएपछि फिल्मले हिटको ग्यारेन्टी गर्थ्यो । दुवैले आफ्नो स्टारडमको बलमा फिल्म चलाउने सामर्थ्य राख्थे । एक समय उनीहरुलाई स्टारडमको आधारमा एकअर्काको प्रतिस्पर्धी समेत भनिन्थ्यो ।

तर, करिअरको उचाईंमा रहँदा उनीहरुबीच एकाएक शितयुद्ध सुरु भयो । खास घटना के थियो भने रेखाले आफ्नो फिल्म हिम्मत निखिललाई अफर गरेकी थिइन् । तर, उनले महंगो पारिश्रमिक मागेपछि अभिनेता विराज भट्ट भित्रिए । त्यही बेला देखि रेखा र निखिलबीच सम्बन्ध चिसिएको थियो । पछि रेखाले पनि पालोको पैँचो तिरिन् । निखिलले आफ्नो कमब्याक फिल्म भैरव को एक गीतमा नृत्य गर्न राखेको प्रस्ताव रेखाले ठाडै अस्वीकार गरिन् ।

रेखाले आफ्नो फिल्ममा काम गर्न नमाने पछि निखिलले भनेका थिए, मेरो पनि दिन आउँछ तर, पछि आफ्नो फिल्म ‘रुद्र’ को प्रिमियरमा रेखालाई निमन्त्रणा गरेर निखिलले लामो समय देखिको दुश्मनी तोडे । अहिले भने उनीहरुबीच राम्रो सम्बन्ध छ । प्रायः भेटघाट पनि भइरहेको हुन्छ । निखिलले हालै एक टीभी अन्तर्वार्तामा रेखालाई आफूले राम्रो कलाकारको रुपमा लिने गरेको बताएका छन् । रेखाको प्रस्तुती ठ्याक्कै रेखा शैली कै हुने गरेको उनको भनाई छ ।

एक समय निखिलले रेखा भएको फिल्म नखेल्ने कसम समेत खाएको बताइन्छ । उनी यो कुरा आफूले बोलेको स्वीकार गर्छन् । उनले भनेका छन, हो मैले रेखा भएको फिल्ममा खेल्दिनँ भनेको थिएँ । किनकि, मलाई लामो विवादमा परिराख्न मन पर्दैन । म विवादबाट झ्वाट्ट छोडेर हिँड्दिन्थेँ । र, त्यो किसिमको विवाद उठाइएको थियो । विवादको जरै उठाउनु पर्दा यो शब्द बोल्न बाध्य भएको थिएँ । यहाँ कामभन्दा अरु कुरामा ध्यान हुनेहरुले अरु नै चिज बनाएर बसेपछि म त्यो चिजबाट हट्न चाहन्थेँ ।

निखिलले अहिले रेखासँग राम्रो सम्बन्ध रहेको बताएका छन् । आफूले पुरानो चिजहरुलाई यतिखेर नै छाडिसकेको उनको भनाई छ । कोरोना महामारीअघि निखिल फिल्म भरैव को सिरिज आयो भैरव बनाउने तयारीमा थिए । तर, अब उनले यो प्रोजेक्टलाई थन्काएर अभिनेता रमेश उप्रेतीसँग मिलेर नयाँ फिल्म बनाउँदैछन् । फिल्मलाई निखिलले नै निर्देशन गर्ने सम्भावना प्रवल छ । फिल्ममा निखिल र रमेश दुवैको मुख्य भूमिका रहनेछ ।