जनयुद्धले हजारौं कथाहरु जन्माएको छ : कलाकार खगेन्द्र लामिछाने

असार ३०, २०७९


माओवादी सशस्त्र जनयुद्धको पृष्ठभूमिमा निर्माण भएको चलचित्र ‘पानीफोटो’ आगामी साउन १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रलाई कलाकार खगेन्द्र लामिछानेले निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशित चलचित्र हो । चलचित्रले द्वन्द्वकालमा अपहरणमा परेर बेपत्ता भएको छोराको खोजीमा रहेका आमा-बुबाको कथा भन्छ । मंगलवार चलचित्रको ट्रेलर सार्वजनिक गरियो ।

ट्रेलर सार्वजनिक कार्यक्रममा खगेन्द्रले अरु कथा नपाएर द्वन्द्वकालको कथामा चलचित्र नबनाएको बताए । उनले भने- द्वन्द्वकालकै कथा भन्नु अरु कथा नभएर होइन । एउटा कालखण्डमा जनयुद्धले हामीलाई, देश र हाम्रो समाजलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा असर पारेको छ । जनयुद्धले हजारौं कथाहरु जन्माएर गएको छ । अनि, हाम्रो त्यो कथाहरुलाई हामीले नभने कसले भन्ने ?

द्वन्द्व देश र समाजका लागि ठीक होइन भन्ने सन्देश प्रवाह गर्नका लागि पनि द्वन्द्वको कथा भन्नुपर्ने खगेन्द्रको तर्क छ । जनयुद्धको समयमा हजारौं मानिसको मृत्यु भयो, हजारौं बेपत्ता भए । यो कुराले अहिले पनि हामीलाई नरमाइलो लाग्छ, उनले अगाडि भने हो यस्तो कथाहरुले त्यो चिजलाई सम्झाइरहनु पर्छ । ताकि युद्ध भनेको ठीक होइन र त्यसमा जानु हुँदैन भनेर झकझकाओस् ।

‘पानीफोटो’ मा खगेन्द्रले आफ्नो गुरु अनुप बराललाई निर्देशन गरेका छन् । गुरुलाई निर्देशन गर्दा समस्या नभएको उनको भनाई छ । उनी भन्छन् छायांकनमा अनुप दाईले कहिल्यै म तेरो गुरु हो भन्ने भावना देखाउनुभएन । त्यसैले काम गर्ने क्रममा कुनै समस्या भएन । अरु बेला हामीबीच गुरु-चेलाको सम्बन्ध भएपनि सेटमा म निर्देशक र दाई कलाकार हो । हामीले त्यो अनुशासनमा बसेर काम गर्‍यौं ।