नयाँ निर्मातालाई स्वामित्व हस्तान्तरण गरेर ‘प्रसाद २’ छायांकन गरिदैँ

साउन ०३, २०७९


पारिश्रमिक र रचनात्मक असमझदारीका मुद्दा टुंग्याउँदै फिल्म ‘प्रसाद २’ लाई पुन: छायांकन सेटमा लैजाने तयारी भएको छ । सुवास थापा प्रोडक्सनबाट फिल्मको स्वामित्व केशव पाण्डेको कम्पनीमा हस्तान्तरण गर्दै छायांकन सुरु गर्न लागिएको हो । अभिनेता विपिन कार्की र लेखक सुशील पौडेलले यी मुद्दालाई टुंग्याएर जतिसक्दो चाँडो फिल्म सुटिङमा लैजान गृहकार्य भएको जनाए ।

केशव पाण्डे प्रोडक्सनको स्वामित्व हस्तान्तरण गरेपछि पुन: कलाकारसँग सम्झौता गरेर अघि बढ्न हामी तयार भएका छौं, कार्कीले अनलाइनखबरसँग भने, निर्माताको क्षतिको मर्मलाई बुझेर हामी लचिलो बनेका हौं । अब अझै एक महिना कुर्न तयार छु । नयाँ कम्पनीसँग पुन सम्झौता गरेर आफू तयार भएको सन्देश पठाइएको कार्कीले जानकारी दिए । अघिल्लो कम्पनी सुवास थापा प्रोडक्सनसँग अरु प्रोजेक्टमा सहकार्य हुनसक्ने भए पनि ‘प्रसाद २’ मा त्यो सम्भावना सकिएको उनले बताए ।

फिल्मको पात्रमा मेरो इमोसन पनि जोडिएकाले म लचिलो बनेको छु, उनले भने, अब आउने प्रोजेक्टलाई असर नपर्ने गरी हामी काममा अघि बढ्नुपर्छ । यसैबीच, पटकथा लेखक पौडेलले पनि लगातारको छलफलपछि असमझदारीका मुद्दा टुंग्याएर छायांकनमा जान आफूहरु जुटेको बताए । कि सुवासजीले केशवजीलाई अधिकार हस्तान्तरण गर्नुपर्‍यो कि उहाँ आफैंले पैसा निकाल्नुपर्‍यो । सोहीअनुसार हामी अघि बढ्ने तयारीमा छौं । अन्य व्यक्तिगत असमझदारीका कुरा त मिलाए मिल्ने कुरा हुन उनले भने, साथीहरुले गलत सन्देश गएको महसुस गर्नुभएको छ । यो मनन् गरेर अघि बढ्ने कुरा भएको छ ।

गत साता पारिश्रमिक विवाद चर्किएपछि कास्कीको ल्वाङ गाउँ पुगेका कलाकार र क्रिउ काठमाडौं फर्किएका थिए । अन्तिम समयमा छायांकन रोकिंदा निर्मातालाई ६० लाखभन्दा बढी घाटा लागेको छ । फिल्ममा विपिनसहित नम्रता श्रेष्ठ, राज कटुवाल र अर्पण थापाको मुख्य भूमिका छ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गरिहेका छन् ।