‘प्रेमगीत ३’ ले ‘कबड्डी ४’ को रेकर्ड ब्रेक गर्ने प्रदीपको दाबी

साउन ०३, २०७९


अभिनेता प्रदीप खड्का अभिनीत दुई आशातित फिल्म ‘प्रकाश’ र ‘प्रेमगीत ३’ यसै वर्ष महिना दिनको अन्तरमा प्रदर्शन हुँदैछन् । भदौ १० गतेबाट ‘प्रकाश’ र असोज ७ गतेबाट ‘प्रेमगीत ३’ प्रदर्शनको तयारीमा छन् । यी दुई फिल्मको विषयवस्तु मात्र फरक छैन, प्रदीपको चरित्र पनि अलग-अलग छ । ‘प्रकाश’ मा गाउँले युवक बनेका उनी ‘प्रेमगीत ३’मा भने रोमान्टिक अवतारमा देखिनेछन् ।

यतिबेला ‘प्रकाश’ को प्रचारमा दौडिरहेका प्रदीपले यो फिल्म आफ्ना अघिल्ला ७ वटा फिल्मभन्दा कमाईमा अगाडि हुने बताएका छन् । त्यस्तै, उनले ‘कबड्डी ४’ को रेकर्ड ‘प्रेमगीत ३’ ले तोड्ने पनि दाबी गरे । उनले भनेका छन् मेरो विचारमा मैले यसअघि गरेका ७ फिल्ममध्ये ग्रसमा ‘प्रकाश’ ले हाइएस्ट गर्छ । इन्डस्ट्रीको कुरा गर्ने हो भने ‘कबड्डी ४’को रेकर्ड ‘प्रेमगीत ३’ले ब्रेक गर्छ ।

‘प्रेमगीत ३’ मा राजा र ‘प्रकाश’ मा रैती बनेकाले दुइवटै क्यारेक्टर दर्शकले स्वीकार गरे आफ्नो लागि त्यही नै सफलता हुने उनको भनाई छ । एउटा कलाकार एक महिनाको अन्तरमा राजा र रैती भएर देखिँदैछ र त्यसलाई दर्शकबाट स्वीकार हुने हो भने मेरो लागि त्योभन्दा खुशीको क्षण अरु के होला र ? तर, म मात्र खुशी भएर पनि हुँदैन, दर्शक र मेकर पनि खुसी हुनुपर्छ उनले भने ।

लुक्सका कारण आफू दर्शकको मनमा लामो समयसम्म बस्न नसक्ने पनि उनी बताउँछन् । आवरणमा मन पराएको कुरा क्षणिक मात्र हुने उनको भनाई छ । कुनै पनि व्यक्तिको विचार महत्त्वपूर्ण हो, उनले अगाडि भने, मेरो लुक्सले म दर्शकको मनमा लामो समयसम्म बस्न सक्छु भन्ने नै लाग्दैन । त्यसैले मेरो र समाजको विचार देखिने चिजहरु भनेको क्यारेक्टरमा आधारित फिल्म हुन् ।