‘पानीफोटो’ को कथा अहिलेको हो : खगेन्द्र लामिछाने

साउन १०, २०७९


भर्सटायल अभिनेता खगेन्द्र लामिछानेले पहिलो पटक निर्देशनमा हात हालेको चलचित्र ‘पानीफोटो’ यही साउन १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । करीब २० वर्षअघि गुरुकुलमा मञ्चन भएको ‘पानीफोटो’ नाटकको कथामाथि उनले चलचित्र बनाएका हुन् । नाटकको कथा तथा निर्देशन खगेन्द्र स्वयंको थियो । नाटकको कथासँगै केही अनुसन्धान गरेर उनले चलचित्रको कथा पूरा गरेका हुन् ।

खगेन्द्र ‘पानीफोटो’ को कथा बेपत्ता भएका व्यक्तिको नभइ उसको परिवारको रहेको बताउँछन् । एक भेटमा उनले भने- चलचित्रको कथा नै बेपत्ता भएका परिवारको हो । बेपत्ता भएको छोराको खोजीमा रहेका आमा-बुबाको कथा चलचित्रले भन्छ । कथा चाहिँ अहिलेको हो । द्वन्द्वकालिन समयको प्रभाव अहिले नेपाली समाजमा के छ र के पनि छ भन्ने चलचित्रले स्पष्टसँग देखाउँछ ।

चलचित्रको कथासँग आफ्नो बाल्यकालदेखिको कनेक्सन जोडिएको खगेन्द्रको भनाई छ । आफ्नो मामा १६ वर्षको उमेरमा हराएको सम्झँदै उनी भन्छन् मैले मामालाई देखेको नै छैन । मेरो ९४ वर्षको हजुरआमा अहिले पनि छोरा आउँछ भन्दै बस्नुभएको छ । हजुरआमाको आशाले म पनि मामाको प्रतिक्षामा छु । बच्चादेखि नै यो कुरा सुनेकाले मेरो मस्तिष्कमा गहिरो छाप बसेको थियो ।

सशस्त्र द्वन्द्वमा हजारौं मानिस बेपत्ता भएपछि हजुरआमाको पीडालाई थप नजिकबाट महशुस गरेका उनलाई ‘पानीफोटो’ नाटक लेख्ने हुटहुटी त्यसैले जाग्यो । नाटकलाई धेरैले रुचाएपछि त्यो कथा अझ धेरै मानिससम्म पुर्‍याउनु पर्छ सोचेका उनले भविष्यमा आफैंले चलचित्र बनाउने अठोट लिए । आफ्नो २० वर्षदेखिको सपना साकार बनाउन पाएकोमा उनले खुशी व्यक्त गरे ।

चलचित्रमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, राधा श्रेष्ठ, अशान्त शर्मालगायतको महत्त्वपूर्ण भूमिका छ । दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको स्थलगत सम्पादन, घनश्याम श्रेष्ठको आर्ट डिरेक्सन र पुष्पा संगमको पार्श्व संगीत छ रहेको चलचित्रका निर्माता रोजिना सिटौला र रविन्द्र बज्राचार्य हुन् ।