यशकुमारले ‘बाटोमुनिको फूल ३’ को छायांकन अमेरिकामा गर्ने

साउन १७, २०७९


अभिनेता, गायक तथा निर्माता यशकुमारले फिल्म ‘बाटोमुनिको फूल ३’को छायांकन अमेरिकामा गर्ने भएका छन् । नयाँ कथावस्तुमा आधारित हुने बताइएको यो फिल्मको पटकथा लेखन सकिएको छ । फिल्ममा कलाकार पनि नयाँ नै हुनेछन् । फिल्मलाई यश आफैंले निर्देशन गर्ने तयारी गरिरहेका छन् । ‘तेस्रो सिक्वेलको सम्बन्ध अघिल्ला दुईवटासँग हुनेछैन,’ यशले अनलाइनखबरसँग भने, नयाँ कलाकार र कथावस्तुमा फिल्म निर्माण हुनेछ ।

यसपटक अमेरिकाको क्यालिफोर्नियाको कथावस्तुलाई फिल्ममा समेटिने भएको छ । ‘यसपटक डायस्पोराको मुद्दालाई हामीले फिल्ममा समेट्नेछौं । तर कथावस्तु चाहिं नेपाली नै हुनेछ, उनले भने । निर्मातासँगको सल्लाहअनुसार छायांकन सम्भवतः आगामी वर्षदेखि सुरु गर्ने तयारी भइरहेको उनले बताए । अमेरिकामै बसोबास गर्ने कलाकारलाई लिइने बताइएको फिल्मबारे कुरा गर्दै यशले पुराना कलाकारलाई नदोहोर्‍याउने बताए ।

बाटोमुनिका फूल का दुवै सिक्वेलले यशकुमारलाई अभिनेताको रुपमा स्थापित गरेको थियो । जातीय विभेद र प्रेमकथामा आधारित बाटोमुनिका फूल ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेका छन् । यसैबीच, पल शाहलाई मुख्य भूमिकामा लिएर बनाउन लागिएको भनिएको फिल्म ‘ए मन मुटुजस्तै भन’ चाहिं अनिश्चित बनेको छ । पल कारागार चलान भएपछि फिल्म निर्माण हुनेबारे अन्योल छ । तर अन्तिम फैसला नआउँदासम्म आफूहरुले पललाई प्रतीक्षा गर्ने यशले बताए । यदि अपेक्षा विपरीतको फैसला आयो भने नयाँ कलाकार लिएर अघि बढ्नुपर्ने हुन्छ ।