ए.आर पुस १ गतेबाट छायाङ्कनको तयारी

साउन २३, २०७९


डार्क कमेडी जनरामा निर्माणको तयारीमा रहेको चलचित्र ए.आरको अन्तिम ड्राफ्ट तयार भएको छ । विगत चार वर्षदेखि ए.आरका लागि काम गरिरहेको र हाल अन्तिम ड्राफ्टमा मिहनत भइरहेको चलचित्रका लेखक विवेक पाण्डेले रातोपाटीलाई बताए ।

‘मित ज्यू’हरूको जीवन र उनीहरूको जर्नीको कथा बोल्ने चलचित्र आउने पुस १ गतेबाट छायाङ्कनका लागि फ्लोरमा लैजाने तयारी पनि निर्माण टिमले बताएको छ । ओस्कार कलेजबाट फिल्म लेखन तथा निर्देशनमा पास आउट विद्यार्थीसमेत रहेका पाण्डेले ए।आरको निर्माणमा अधिकांश ओस्कार कलेजकै टिम रहने बताए । जसमा तरा रोसियाराले सह लेखनमा, आरती पाण्डेले डाइलग सुपरभाइजरमा सहयोग गरिरहेका छन् भने एशोसिएट निर्देशनमा किशोर भट्ट रहने छन् ।

चलचित्रको मुख्य अभिनेतामा सौगात मल्ल रहने छन् भने सह अभिनेतामा ओस्कार कलेजबाट पास आउट नयाँ अनुहार देख्न सकिने छ । यद्यपि निर्माण टिमले सौगातका कुनै प्रतिक्रिया दिएन । ‘हामी छिट्टै नै चलचित्रको पूरा नाम र निर्माण टिम अनि कलाकारहरूको छिनाफानो गरेर पोस्टरसहित सार्वजनिक गर्छौ’, लेखक पाण्डेले भने।

चलचित्र ‘अमेरिका ब्वाइज’ र ‘लप्पन छप्पन २’मा लेखकका रूपमा रहेका पाण्डे चलचित्र ए।आर मार्फत निर्देशनमा पनि आउने तयारीमा छन् भने चलचित्रको केही प्रतिशत लगानी पनि आफै बेहोर्ने योजनामा छन् । यद्यपि यो चलचित्र कुन कम्पनीबाट तयार हुँदै छ त्यो भने अझै पक्का नभएको पाण्डे बताउँछन् ।