“डिसेम्बर फल्स” पोस्टर आर्यनको रौद्र रुप, उपासना घाइते नर्स

कार्तिक ०५, २०७९


फिल्म ‘डिसेम्बर फल्स’ को प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रवार निर्माण टिमले दुई पोस्टर सार्वजनिक गर्दै आगामी पुष १५ गतेलाई प्रदर्शन मिति तोकेको हो । सार्वजनिक दुई पोस्टरमध्ये एउटामा अभिनेता आर्यन सिग्देलको रौद्र रुप देख्न सकिन्छ भने अर्को पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरी नर्सको पोशाकमा रगताम्मे हातले एउटा आँखा छोपेको अवस्थामा प्रस्तुत छिन् ।

प्रविण झा निर्देशित फिल्मको दुई पोस्टर आकर्षक छन् । दर्शकको ध्यान खिच्ने हिसाबमा पोस्टर तयार पारिएको छ । आर्यनको रिसाहा लुक्स र अस्पतालमा आर्मीको सुरक्षा घेराभित्र घाइते रुपमा प्रस्तुत उपासनाको चरित्र चित्रणले फिल्मप्रति कौतुहलता सृजना गर्न सफल छ । यी दुई पोस्टरले यो फिल्मको टिजर र ट्रेलरको प्रतिक्षा बढाएको छ । फिल्मलाई महेश आर गुप्ताले खिचेका हुन् ।

फिल्ममा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय रहेको छ । रोमान्टिक थ्रिलर जनरामा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता तथा निर्माता राम प्रसाद रिजाल हुन् । फिल्मका गीतमा सुशान्त गौतम, प्रतिक पौडेल, दीपक शर्मा र कोशिश क्षेत्रीको संगीत छ ।

लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्माता राज कुमार भट्ट हुन् । बनिश शाहले सम्पादन गरेको यो फिल्मको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् । फिल्मको युट्युब र अष्ट्रेलिया राइट्स एजुकेशन एन्ड माइग्रेसन कर्नरले किनिसकेको छ । यस फिल्मलाई श्रीराम बलाजी फिल्मस्का सुनिल मानन्धरले वितरण गर्ने छन् ।