‘छक्का पञ्जा ४’ सँग अनमोलको ‘छड्के २’ भिड्ने

कार्तिक १५, २०७९


यस वर्षको फागुन १९ गते नेपाली फिल्मबीच महासंग्राम हुने भएको छ । यो मितिबाट कुनै निर्माताले खुट्टा नकमाए बक्सअफिसमा पाँच फिल्मको भिडन्त हुनेछ । ‘वर एन्ड वधु’ ‘परस्त्री’ ‘बुलाकी’ र ‘छक्का पञ्जा ४’ ले यो मिति रोजिसकेको अवस्थामा अब अर्को फिल्म ‘छड्के २’ पनि थपिएको छ । मंगलवार एक पोस्टर जारी गर्दै फागुन १९ गतेलाई यो फिल्मको प्रदर्शन मिति तोकिएको हो ।

पोस्टरमा अभिनेता अनमोल केसी ग्याङस्टर लुक्समा प्रस्तुत छन् । उनको घाँटीदेखि पाखुरासम्म ट्याटुहरु खोपिएका छन् । लामो कपाल र कालो चश्मामा बाइकमा चलाउँदै देखिएका उनको अगाडि-पछाडि ग्याङस्टर हुलियामा केही केटाहरु बाइकमा सवार छन् । फिल्मको पोस्टर आकर्षक छ भने अनमोलको लुक्स जबर्जस्त छ । फिल्म ग्याङस्टर कथामा बनेको पोस्टरले नै बुझाउँछ ।

निगम श्रेष्ठद्वारा लिखित तथा निर्देशित यो फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, रेशा आले मगरलगायतको पनि अभिनय छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको चितवन र मुस्ताङमा छायांकन भएको हो । ‘छड्के २’ फागुन १९ मा रिलिज हुने पक्का भएसँगै फिल्म क्षेत्रमा तरंग मच्चिएको छ ।