पहिरनका कारण विवादमा उपासना

कार्तिक २२, २०७९


अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । फिल्म ‘डिसेम्बर फल्स’ को हालै सार्वजनिक भएको गीत ‘चार घण्टा कुराएर’ मा लगाएको पहिरनका कारण उनी विवादमा तानिएकी हुन् ।

उनले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयंम्भू मन्दिरको चित्र रहेको छ । उक्त पहिरनले भगवानको अपमान भएको भन्दै सामाजिक संजालमा उनको आलोचना भइरहेको छ । केही दिन अगाडि भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा उनले यो पहिरनमा अभिनेता आर्यन सिग्देलसँग नृत्य गरेकी छन् । गीत छायांकनका क्रममा एक भिडियो टुक्रा समेत उनले सामाजिक संजाल टिकटमा हालेकी थिइन् । सोही भिडियोका कारण उनको आलोचना भएको हो ।

पौषको १५ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म प्रेमकथामा निर्माण भएको हो । फिल्ममा आर्यन र उपासनाकै मुख्य भूमिका छ ।