शोभितको चलचित्र ‘बद्रीबहादुर’को विदेश राइट्स बिक्री

कार्तिक २३, २०७९



काठमाडौं । पुराना निर्देशक शोभित बस्नेत निर्देशित पछिल्लो चलचित्र  ‘बद्रीबहादुर’को विदेश राइट्स बिक्री भएको छ । निर्देशक बस्नेत र व्यवसायी पूजा तामाङबीच विश्वव्यापी प्रदर्शन अधिकारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

तामाङले २० लाख रुपैयाँमा चलचित्रको विदेश प्रदर्शन अधिकार खरिद गरेको निर्देशक बस्नेतले जानकारी दिए । अब नेपालमा रिलिज भएपछि लगत्तै यो चलचित्र डायस्पोरामा समेत प्रदर्शन हुनेछ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रको केही दिनमै  नेपाल प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी छ । आउँदो साता सलोन बस्नेत र पूजा शर्मा अभिनित फिल्मको गीत सार्वजनिक गर्ने तयारीमा निर्माता छन् । सोही गीतसँगै चलचित्रको प्रचार अभियान सुरु हुने जनाइएको छ ।

चलचित्रमा सलोन र पूजाका अलवा धीरेन शाक्य, जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङको अभिनय छ । एलिनाले यही फिल्मबाट डेब्यु गर्दैछिन् । चलचित्रको पटकथा रामकाजी घिमिरे रहेको छ। विनोद सापकोटाको छायांकन रहेको चलचित्रमा टंक बुढाथोकी र उज्जन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ ।

काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको चलचित्रको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कटेल छन् । एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् । निर्मातामा मिथुन भोटे छन् ।