दया-विपिन-सौगात एकसाथ जोडिदै, किन सँगै आउन सक्दैनन् अनमोल-प्रदीप र धिरज ?

पुष ०५, २०७९


संकटग्रस्त बनिरहेको बलिउडलाई पुरानै बाटोमा फर्काउन हरदम कोशिश भैरहेको छ । कुनै समयका दुश्मन कलाकारहरुले पनि एकसाथ फिल्ममा काम गरिरहेका छन् । साहरुखको फिल्ममा सलमान, सलमानको फिल्ममा आमिर, अक्षयको फिल्ममा रणवीर, रणवीरको फिल्ममा अजय । यस्ता कैयौं फिल्म छन् जहाँ बलिउडका स्टार कलाकारले एकअर्कासँग काम गरेका छन् ।

नेपालमा पनि केही स्थापित कलाकारहरुलाई एकसाथ लिएर धमाधम फिल्म बनिरहेको छ । सौगात मल्ल र दयाहाङ राई जस्ता स्थापित कलाकार एकसाथ काम गरेर हिट फिल्म दिइरहेका छन् । विपिन कार्की र दयाको फिल्म पनि एकपछि अर्को रिलिज हुँदैछ । तर, नेपाली फिल्मका दुई स्टार नायक अनमोल केसी र प्रदीप खड्कालाई एकसाथ फिल्ममा ल्याउन निर्माताका लागि असंभव जस्तै भएको छ । अझ, पछिल्ला केही घटनाक्रमले त यी दुई स्टारमा शितयुद्ध अझै बढाएको छ ।

उसो त प्रदीपको फिल्म ‘प्रेमगीत’ चलेपछि नै उनको तुलना अनमोल केसीसँग गर्न थालिएको हो । यसपछि यी दुई नायक एकसाथ केही कार्यक्रममा नदेखिएका पनि होइनन् । तर, फिल्म ‘प्रेमगीत ३’ रिलिजको समयमा प्रदीपले घुमाउरो तरिकाले अनमोल केसीप्रति गरेको कटाक्षले उनीहरु बिचको दुरी अझै बढाएको छ । अनमोलले भने आजसम्म प्रदीपको बारेमा कुनै टिप्पणी गरेका छैनन् ।

अनमोल सिमित फिल्म खेलिरहेका छन् । प्रदीप निर्माता सन्तोष सेनको क्याम्पमा बढी व्यस्त देखिएका छन् । यसैले, पनि यी दुई एकसाथ फिल्ममा आउने संभावना केही बर्षसम्म त असंभव नै देखिएको छ । नेपाली फिल्म क्षेत्रमा नायकहरुको अभाव चरम देखिन थालेको छ । निर्माता फिल्म बनाउँदा नायकको खोजीमा भौतारिएको पाइन्छ । अर्कोतिर, अनमोल केसी, प्रदीप खड्का, धिरज मगर जस्ता नायकहरु एक अर्कासँग पर्दा शेयर गर्न सहज मान्दैनन् ।